नेपालमा हरेक वर्ष खर्बौंको कृषिजन्य वस्तुहरु आयात हुनेगर्छ । जसमा चामल, मकै, गहुँ र हरियो तरकारी समेत अन्य मुलुकबाट आयात भइरहेको छ । कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुनु सुखद् होइन । मुलुकको व्यापार घाटा वृद्धि हुँदै जानु कृषिजन्य वस्तुको आयात नै हो । मुलुक उत्पादन वृद्धि भन्दा पनि आयातमुखी अर्थतन्त्रमा तल्लिन छ । कृषि उत्पादन बढ्ने भन्दा घट्दै गएको छ । कृषिप्रधान देश भएर पनि कृषिजन्य वस्तुहरु आयात भइरहेको अवस्थामा नेपालको व्यवसायिक समूह गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यान नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै र किसानको समेत आम्दानी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्यका साथ कृषि क्षेत्रमा लाग्नुभएको छ । उहाँले पूर्वी नेपालमा २ सय बिघा जमिनमा कृषि खेती अघि बढाइसक्नु भएको छ । तराईमा मात्रै नभएर अब पहाडी जिल्लाहरुका पालिकाहरुसँगको सहकार्यमा किसानले उत्पादन गरेको कृषि उत्पादन ‘माटो’ ब्राण्डमार्फत बजारमा लैजाने र विदेश समेत निर्यात गर्ने योजना बनाउनुभएको छ । नानले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष तथा उद्योगी गोल्यनसँग नेपालमा कृषि क्षेत्रमा लाग्नुको कारण, नेपालको कृषि क्षेत्रको सम्भावना, समस्या, समाधानका उपायहरूका बारेमा संक्षिप्त कुराकानी गरेको छ ।
बैंक तथा वित्तीय संस्था र उद्योगलाई छाडेर कृषिमा जोडिनुभएको छ, कृषिमा नै जोडिनुको कारण के छ ?
–किसानको आयआर्जन बढोस् भन्ने मेरो चाहना हो । यससँगै कृषि प्रशोधन उद्योगहरूले साना उद्योगी जन्माउनुपर्यो भनेर यसमा लागेको हुँ । यसका लागि हामीले १०–१२ ठाउँमा टाइअप गरेका छौं । माटो ब्राण्डमा महिलाले उत्पादन गर्ने अचार, मह, घिउ लगायत संकलन गर्न सहकार्य गरेका छौं । यस्तै हिमाली रसुवाको पानी रद्रगंगा फ्क्ट्रीले उत्पादन गरेको छ । हामीले बजारीकरण गरिदिएका छौं । साना उद्यमीलाई टेवा पुगोस् भनेरै माटो ब्राण्डमा जोडेर बजारीकरण गरिएको हो। यी काम मैले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र साना उद्यमीलाई सहज होस् भनेर गरिएको हो । यसले देश त बन्छ । कृषि भनेको सजिलो काम होइन । आजको भोलि नाफा आउँदैन। यसलाई दिगो नाफामुलक बनाउन अरू कर्पोरेट हाउस पनि छिर्नुपर्छ । खेतीको जग्गा घडेरीमा नजाओस् भन्ने मेरो चाहना हो । यहाँ खाद्य सुरक्षा छैन । यसको सुरक्षा गरेर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने मेरो चाहना छ । साथै मेरो सपना भनेको सबै नेपालीहरू स्वस्थ होउन भन्ने हो। उमेर ढल्केसँगै हरेकले बढी औषधि खानु परिरहेको छ । धेरै पैसा औषधि उपचारमा खर्च हुन थालेको छ। विषादीरहित खानामा ध्यान दियौं भने सबै नेपालीको स्वस्थ जीवन जिउन मद्दत पुग्छ । अब हामीले पालिकाहरूसँग सम्झौता गरेर करार खेतीमा जाने योजना बनाएका छौं । पालिकामार्फत किसानसँग करार खेती गर्दा भरपर्दो हुने भएकाले यस्तो गर्न खोजेका हौं। यसबाट किसानलाई अर्गानिक उत्पादन गर्न बिउ, बिरुवा, उपलब्ध गर्ने, लगाउनु अघि कसरी फलाउने सिकाउने, जैविक मल र विषादी कसरी बनाउने भनेर सिकाउने र फलाउनुअघि नै मूल्य तय गरिदिन्छौं । जस्तै कसैको १ बिघा जमिन छ भने उसँग २ वर्षको करार हुन्छ। अहिले ५० हजार पनि आम्दानी छैन भने हामीले २ लाख आम्दानी गराउँछौं। अझै यसैगरी किसानले ५ वर्षसम्म हामीसँगै जोडिए भने यसअवधिमा ५ लाख आम्दानी पुर्याउँछौं ।
कृषि उत्पादन गर्न किसानहरुले मल, बीउ, सिंचाई लगायत वन्यजन्तुको समस्या भोग्नुभएको छ, वन्यजन्तुको समस्या समाधान गर्न राज्यले के कदम चाल्नुपर्छ वा कस्तो नीति लिन आवश्यक छ ?
–किसानहरु हामी सबैको अन्नदाता हो । कुनैपनि देशमा सबै काम किसानले नै गर्नुपर्छ भन्ने विश्वमा कहीँ छैन । नेपाली अन्नदाता किसानहरुलाई सबै काम काँधमा बोकाउने काम भएको छ । किसानलाई सबै भन्दा पहिला राम्रो बीउ कहाँबाट ल्याउने भन्ने पत्ता लगाउन ग्राहो छ । त्यसको पनि खोजेर किसान आफैँले व्यवस्था गर्नुपरेको छ । मलको अभाव भएर कसरी मल प्राप्त गर्ने भन्ने समस्या छ । यी सबै समस्या झेल्दै केही उत्पादन ग¥यो त्यो पनि वन्यजन्तुहरुले खाई दिने र वन्यजन्तुबाट बचेको उत्पादन बजारमा बेच्न बजार र मूल्य नपाउने अवस्था छ । नेपाली किसानलाई सबै काम आफैँ गर भन्ने भएको छ । यस्ता समस्याको कारण किसानहरु माथि उठ्न सकेका छैनन् । त्यसकारण अब किसानले अन्य समस्या झल्नु नपरोस् र उनीहरुले उत्पादन मात्रै गर्नुपर्ने वातावरण बनाउन लाग्नुपर्छ । नेपालका पूर्वदेखि पश्चिमसम्म विभिन्न वन्यजन्तुहरुले बाली नष्ट गर्ने गरेको अवस्था छ । वन्यजन्तु बदेल,दुम्सी,बादर लगायतका समस्या रामेछाप,दोलखा,काभ्रे लगायतका क्षेत्रमा बढी आतंक देखिएको छ । त्यहाँका किसानहरुले जतिखेती लगाए पनि आलु,मकै बदेल र अन्य फलफूल लगायतमा बादरले दुःख दिने गरेको पाइयो । नेपालको पूर्वदेखि पश्चिमसम्म जाँदा हात्ती,निलगाई,अर्ना र बाँदरलाई सरकारले समेत कन्टोल नगरी कृषि उत्पादन जोगाउने कुनै उपाय छैन । सरकारले वन्यजन्तु बाँदर,दुम्सी,बदेल,हात्ती नियन्त्रणको लागि राज्यले कुनै न कुनै नीति तत्काल ल्याउनुपर्छ । नत्र मुलुकको पहाडी भेग रित्तो हुने तर बाँदरको जनसख्या वृद्धि हुँदै जाने अवस्था छ । अहिले नेपालबाट हरेक दिन ७ देखि १० हजार मानिसहरु विदेश गइरहेको अवस्था छ । सरकारले वन्यजन्तुको नियन्त्रण नगरी खाद्यको सुरक्षा हुन सक्दैन । खाद्यन्नमा ४ खर्बको खाडल पूर्ण सक्ने अवस्था छैन । २ खर्ब रहेकोमा ५ वर्षमा डब्बल भयो । यस्तै भइरहे भोलिको दिनमा हामीलाई खानको लागि पनि पुग्दैन । अहिले सबैतिर कृषि पेशमा लाग्नेहरु युवाहरु छैनन् । सबै ५० माथिमा मानिसहरु मात्रै कृषिमा हुनुहुन्छ । गाउँघरमा आय स्रोत नहुँदा सबै विदेश जानुपर्ने बाध्यता छ । पहाडी क्षेत्रमा धेरै राम्रो हावापानी रहेको छ । त्यहाँ बस्न र त्यहाँ उत्पादन भएको खानेकुरा खाँदा मानिस समेत स्वार्थ बन्नसक्छ । त्यस्ता ठाउँहरुमा कृषि उत्पादन वृद्धि गर्न आवश्यक छ तर वन्यजन्तुबाट उत्पादन भएको वस्तुहरु जोगाउन समस्या छ ।
खेतीबालीमा वन्यजन्तुको आंतक रोक्न राज्यले कस्तो भुमिका खेल्नु पर्छ ?
–किसानले उत्पादन गरेको बालीमा वन्यजन्तु लाग्छ भने राज्यले वन्य जन्तुलाई वनमा राख्न सक्नुपर्छ । वन्यजन्तुहरु खेतखारीमा आउन दिनु भएन । सरकारले कृषि उत्पादन र उत्पादित सामानको वन्यजन्तुवाट सुरक्षित राख्ने विषयमा कुरा मात्रै होइन । उपयुक्त नीति बनाएर वन्यजन्तुको आतंक रोक्न नसके सबैतिर मानिसहरु भन्दा बढी वन्यजन्तु मात्रै हुने अवस्था नआउला भन्न सकिँदैन । सरकारले वन्यजन्तुलाई ४५ प्रतिशतको भू–भागमा सिमित कसरी गर्ने, कसरी नियन्त्रण गर्ने भन्ने नीतिगत योजना ल्याउनुपर्छ । किसानहरुलाई वन्य जन्तुहरुको आतंकबाट उन्मुक्ति दिलाउनुपर्छ । सरकारले यस्तो गर्न नसके हाम्रा खेतहरु बाझो नै हुन्छन् । विदेश जानेक्रम पनि रोकिँदैन । पहाडी भेग खाली हुँदा मानिसहरु बिस्तारै सहज ठाउँमा सर्दैछन् । पानी अन्य समस्या नभएको राम्रो क्षेत्रमा पनि वन्यजन्तु लगायतका समस्याको कारण खेती गर्न सकेका छैनौं । पछिल्लो समय यसले डरलाग्दो अवस्था सिर्जना हुँदै गएको छ । यसलाई रोक्न सक्नुपर्छ । यसमा सरकारले प्राथमिकताका साथ लाग्नुपर्छ । हामी सबैले यसलाई छलफलको विषय बनाउनुपर्छ । किसान अन्नदाता भएकाले सबैभन्दा पहिला सरकारले किसानलाई जोगाउनुपर्छ । जबसम्म सरकार किसानको लागि सेन्सेटिभ हुँदैनौं । तबसम्म जति नीति बनाए पनि हामी सफल हुन सक्दैनौं ।
राज्यका नीतिहरु पनि कृषि उत्पादन मैत्री छैनन्, यस्तो अवस्थामा कृषि क्रान्ति गर्ने भनेर लाग्नुभएको छ, यसलाई सफल बनाउने योजना कस्तो छ ?
–नेपाल कृषि प्रदान देश भनेर म जन्मेदेखि भन्ने गरेको सुनेको हो । नेपालले त्यो बेला चामल, धान, जुट विदेशमा निर्यात गर्ने गथ्र्यौं । यति धेरै कृषि उपजहरु विदेश निर्यात गर्दा राम्रो आम्दानी थियो । तर अहिले बिस्तारै कृषि उपज सबै वस्तुहरु आयात गर्न थाल्यौं । नेपाल एकैचोटी कृषिबाट सर्भिस उद्योगतिर गयौं । यसले गर्दा कृषिमा अटोमाईजेशन,विविधिकरण आयो नत ठूला व्यवसायिक घरना कृषिमा लाग्यो । बाल्यकालमा आमाबुबाले राम्रो पढ नभएर हलो जोत्नुपर्छ भन्ने गरेको सुनेका थियौं । अब यसलाई नतिरी भएन । म कृषिमा लाग्नुको कारण कमाउन भन्दा पनि देशको लागि केही गरौं भनेर हो । अहिले पनि ६० प्रतिशत मानिसहरु किसान नै छन् । करेशाबारीमा लगाएर आफ्नो जीविका गर्नका लागि वा उत्पादन गरेर अरुलाई बेच्नको लागि होस् । जबसम्म अब हामी कृषि उत्पादनमा लाग्न सक्दैनौं । तबसम्म हाम्रो देशले आर्थिक रुपमा फण्डको मार्न सक्दैन । कृषि र वनपैदावर नेपालको धरोहर हो । किसानहरुलाई थाहा छ कुन ठाउँमा के हुन्छ । उनीहरुलाई करप क्यालेण्डर चाहिन्छ । कुन बाली लगायो भने बेच्दा राम्रो मूल्य पाउन सक्छौं र कति नाफा हुन्छ । कृषि उत्पादन र प्रशोधन धेरै ग्राहो काम होइन । मैले जन्मेदेखि कृषिमा भन्दा उद्योगधन्दामा बढी लागेको छु तर उद्योगधन्दा भन्दा पनि नेपालको लागि चाहिने दिगो विकासको लक्ष्य भनेको नै एक नम्बरमा कृषि पर्छ । कृषिमा अब लाग्नुपर्छ भने आफै लागेको हो । कृषि क्षेत्रमा नै सबै भन्दा राम्रो नाफा हुन्छ भनेर देखाउनु छ । यो च्यालेन्ज आफूले आफैँलाई दिएको छु । कृषिको लागि पूरै नेपाल घुम्न चाहन्छु । ७५३ स्थानीय तहमा पुग्न चाहन्छु । नेपालको तराई भन्दा पनि पहाडी भागहरु भुगोल फरक–फरक छ । कृषिलाई उद्योगको मोडलमा लैजानको लागि तयारी गर्न सकियो भने अरु व्यवसायी घरनाहरु पनि कृषिमा लाग्छन भन्ने हो । जनता एग्रोमार्फत सबैको पुँजीलाई एकिकृत गरेर कृषिमा फड्को मारौं भन्ने अठोटका साथ अगाडि बढेका छौं ।
उद्योग र बैंकिङ क्षेत्रमा लामो समय अनुभव प्राप्त गरेर अब कृषिमा लाग्नुभएको छ, किसानसँग तपार्ईँहरु कसरी जोडिनु हुन्छ ?
–तराईमा १० विघा जग्गा भएको किसानले मुस्किलले वर्षभरीमा ५० हजार कमाउँछ । त्यसलाई दुई वर्षमा दुई लाख पुर्याउने र पाँच वर्षमा ५ लाख पु¥याउने भन्ने योजना बनाएका छौं । त्यसको लागि कसरी खेती गर्नुपर्छ र केके मिक्स गरेर जानुपर्छ भन्ने कुरा हामीले तयारी गरेका छौं । त्यो मोडल अनुसार हामीले झापामा शुरु गरेका छौं । पहाडी क्षेत्रमा हामी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा शुरुवात गर्न लागेका छौं । पहाडी जिल्लाहरुमा परीक्षण गर्ने क्षणमा छौं । आशापुरी फर्म जोडिएपछि पहाडी क्षेत्रमा काम गरिरहेका छौं । बेसारमा करम्पुमेण्ट उच्च भएको बेसार लगाउने तयारीमा छौं । नेपालमा अहिले २ प्रतिशत भन्दा कम छ हामीले ५ प्रतिशत भन्दा बढी भएको बेसार फलाउने तयारीमा छौं । किबी पनि रातो किवीमा प्राथमिकता दिएका छौं । जुन सिजन भन्दा पहिला नै फल्छ । रामेछापमा भुईं स्याउ,खुरपार्ने,अंजिरको ठूलो सम्भावना देखियो । यसरी किसानको आय वृद्धि भएपछि किसान आफैँ जोडिन आउँछन् । पालिकाहरु आफैँ जोडिन आउनुहुन्छ । हामीले शुरुवात गर्ने भनेको झापाका ५ ओटा नगरपालिकासँग र पहाडी भेगको ३ गाउँपालिकामा जोडिन खाज्दैछौं । काठमाडौंको वरिपरि भएका नगरपालिकाहरुसँग पनि जाडिन कोशिस गर्छौं । एक वर्षमा यो मोडल सफल हुने बित्तिकै पाँच वर्षमा ५० हजार किसानसँग जोडिन त्यति समस्या छैन । कृषिमा अहिले समस्या छन् । कृषिमा काम नै गर्न नसक्ने समस्या छैनन् । सरकारले वन्यजन्तुको नियन्त्रण गरिदिनुपर्छ । अन्य समस्याको लागि हामी राज्यसँग यो गरिदिनु प¥यो भनेर राज्यसँग जाँदैनौं । त्यो बाहेकका समस्या हामी आफैँ समाधान गर्छौं । किसान,पालिका,नगरपालिको बीचमा हामी आफैँ समन्वय गछौं । सरकारले यसमा साथ दियो भने चाँडै सफल हुन्छ । स्थानीय सरकार हाम्रो लागि अत्यावश्यक पर्छ । हामी स्थानीय तहका सरकारसँग जोडिएर काम गर्न चाहन्छौं । त्यही हिसावमा लागेका हौं ।
सरकारले किसानलाई दिने सहुलियत र कृषिकर्जा समेत वास्तविक किसानलाई पुग्न सकेको छैन भने कसरी कृषि क्षेत्रको विकास बिस्तार र व्यवसायीकरण गर्न सकिन्छ ?
–सरकारले किसानलाई दिने कृषि कर्जा वास्तविक किसानले नपाएको कुरा सत्य हो । केहीले पहुँचको आधारमा पाएका छन् । तर वास्तममा १० प्रतिशत किसानले पनि कृषि सहुलियत तथा सहुलियत पाउन सकेका छैनन् । तर पछिल्लो समय कर्जा लिएर कृषि उत्पादन भए पनि बजार पाउन सकेको छैन । बैंकबाट कृषि कर्जा लिएर उत्पादन गर्ने किसानहरु पनि कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । जसको कारण किसानले मल,बीउ समस्या झेलेर उत्पादन गरेको बाली वन्यजन्तुले खाने र वन्यजन्तुबाट जोगिएको उत्पादन विचौलियाले खाइदिने गरेको छ । त्यस्तो हुँदा किसानको हातमा के त ? किसानले गरेको मेहनतको एक पैसा पनि आएन । किसानले लगाएको खर्च पनि उठेन । त्यसैले किसानहरु कृषिबाट पलायन भइरहनु भएको छ । किसानलाई राम्रो नाफा हुने गरी मोडल ल्याएर एक ठाउँमा सफल भए मात्रै पनि त्यस्ता समस्या तोडर जान समस्या हुँदैन । हेरक कामको थालनी गर्दा शुरुवातमा यस्तै ग्राहो हुन्छ । क्यालकुलेटर जोखिम लिएर भने व्यापार व्यवसाय हुँदैन । जीवनमा जति धेरै जोखिम आउँछ त्यति आनन्द आउँछ । अहिले मलाई कृषि क्षेत्रका चुनौतिहरुको सामना गरेर सफल बन्ने हुटहुटी त्यत्तिकै छ । अबको एक वर्षमा अहिले शुरु गरेको कृषि मोडल सफल हुन्छ । कृषिमा जोखिम भनेको किसानहरुलाई जोखिम नहुने गरी आफ्नै पैसाको जोखिम लिने हो । मैले पाँच वर्षमा सबै जोखिम पार गरेको छु । अब त्यो जोखिम पार भएको छ । जब आफ्नो पैसा लगाइन्छ तब नोक्शान भोगिन्छ त्यसपछि विग्यता त्यहीबाट आउँछ । किसानहरुको भलो हामीले अपनाएको मोडलबाट नै हुन्छ । पछिल्लो समय नेपालीहरुको खाने बिल भन्दा डाक्टरले दिएको औषधीको बिल बढेको छ । नेपालमा हामीले खेती ग¥यो भने नेपाल नै अर्को हुन्छ । बालक देखि वृद्धसम्म स्वार्थ हुन्छ भने पर्यटन आफैँ वृद्धि हुन्छ । हाम्रोमा कति सुन्दर डाडाहरु छन् । तर हामीले हाम्रो कुराहरुलाई प्राथमिकतामा राखेर प्रचार गर्न सकेका छैनौं ।
तपाईँ एक जना ठूलो व्यवसायिक घराना लागेर मुलुकमा कृषिमा क्रान्ति ल्याउन सम्भव छ ?
–म आँखा चिम्लेर हाम फाल्न लागेको होइन । कृषिमा जसरी लागेको छु । नेपालको समृद्धिको लागि ठूलो सम्भावना देखेर लागेको छु । गाउँ–गाउँमा गएर किसानहरुको कुरा सुन्दा र हामीहरु जाँदा किसानहरुको अनुहारको खुशी हेरेर भोलि किसानको आम्दानी बढ्छ र किसानहरुको परिवार नै खुसी हुन्छ त्यो भन्दा राम्रो कुरा के हुनसक्छ ? त्यो भन्दा ठूलो सन्तुष्टि मेरो र मुलुकको लागि केही हुन सक्दैन । यसको मतलब त्यति मात्रैले पुग्छ भन्ने होइन । व्यपार गरेपछि नाफा गर्नैपर्छ । हामीलाई तत्काल नाफा चाहिएको पनि छैन । हाम्रोमा पारदर्शी व्यापार छ । कृषिमा पनि आफू पनि बाचौं र अरुलाई पनि बाच्न दिऔं भन्ने हिसावले जानुपर्छ । मलाई अहिले सबैले हेरेरहेका छन् । पवन गोल्यानले कृषि क्षेत्रको दिगो विकास गर्न सक्यो भने हामी पनि कृषिमा लगानी लगाउँछौं र आउँछौं भन्ने आशा गरिरहेका छौं । किसानहरुको आशा पूरा गर्नसक्यौं भने सबै व्यवसायी क्षेत्रपनि कृषिमा प्रवेश गर्छन् । कृषिको यो मोडल सफल भएर किसान र कम्पनी नाफामा गयो भने कृषिमा राम्रो फड्को मार्नेछौं । अहिले विदेशमा रहेका युवाहरुलाई मुलुक फर्कन मद्दत गर्छ भन्ने विश्वास छ ।
मुलुकको अर्थतन्त्र समस्यामा छ, अर्थतन्त्र लयमा ल्याउनको लागि सरकारले पनि कृषिलाई प्राथमिकता दिन थालेको छ, कृषिले मुलुकको अर्थतन्त्र लयमा ल्याउने सम्भावन कति छ र कसरी सहयोग गर्नसक्छ ?
–अर्थतन्त्रमा अहिले देखिएका समस्या र चुनौतिहरु हामी सबैले मिलेर बनाएको हो । यसमा कुनै विमति छैन । हामी युवा शक्तिहरु विदेशमा पठायौं । विदेशबाट रेमिट्यान्स लिएर आयौं । बाहिरको ब्राण्डहरु नेपालमा ल्याएर बेच्यौं । रेमिट्यान्सबाट आएको पैसालाई फेरि बाहिर पठाऔं । देशमा त्यो पैसा बस्दै बसेन । त्यसबाट आउने राजश्वबाट राज्य रमायो । आयात बढ्यो तर मुलुकभित्रको उत्पादन खच्किँदै गयो । आज मुलुकको औद्योगिक उत्पादन विलो १० प्रतिशतमा आइसक्यो । कृषिको उत्पादन दुई तिहाईबाट घटेर २५ प्रतिशतमा झरिसक्यो । यो अवस्था सरकार,नियमनकारी निकाय र निजी क्षेत्र सबै मिलेर गरेको हो । एक जनालाई दोष दिएर हुँर्दैन। अब हामीसँग विकल्प बाँकी छैन । मुलुकले फड्को मार्न सक्ने अवस्था भनेको पहिलो नम्बरमा कृषि छ । अहिले हामीलाई चाहिने तरकारी तीन महिनामा फलाउन सक्छौं । अफ सिजनमा पनि तरकारी नेपालमा नै फलाउन सक्छौं । यो वर्ष भारतमा नेपालले गोलभेडा निर्यात गरौं । तीन महिनामा नेपाल तरकारीमा आत्मनिर्भर बन्नसक्छौं । खाद्यन्नमा पनि राम्रो योजना बनाएर उत्पादन गर्न लाग्यौं भने एक वर्षमा आत्मनिर्भर बन्नसक्छौं । हामीलाई भू–भाग अपुग छैन । फलफूल पनि नेपालमा नै धेरै उत्पादन गर्न सकिन्छ ।
सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिएको छ तर बजेटमार्फत कृषिजन्य वस्तुहरुमा कर लगाउने काम गरेको छ, यसरी कृषि उत्पादन बढ्ने र किसान खुशी हुने अवस्था छ ?
–मुलुकले कृषिमा फड्को मारोस् भन्ने राज्यको चाहना छैन । आयातमुखी अर्थतन्त्रतिर हामी प्रवेश गरौं । आयातमुखी अर्थतन्त्रलाई परिमार्जन गर्नैपर्छ । यसको लागि राज्य संवेदनशिल हुन जरुरी छ । सरकारले लगाएको करले राज्य धनी हुने होइन । तर किसानहरु गरिब हुन्छन् । राज्य धनी हुँदैन । कृषिमा कर लगाउने कुनै पनि देशमा छैन । युरोपको मोडल नेपाल जस्तो देशले लिन मिल्दैन । नेपालको छिमेकी देश भारतमा आयकर र अन्तःशुल्क लगाएको छैन । चाइनामा पनि मलाई लाग्छ लाग्दैन । चीन कृषिबाट नै कहाँबाट कहाँ पुग्यो । चीनको कृषिको इतिहास त्यस्तो छ । नेपाल कृषिप्रदान देश भन्छौं तर चीन लगायतका मुलुकहरुले अहिल्यै कृषिप्रधान देश भनेको थिएन । हामी कसैलाई विश्वास छैन कृषिबाट फड्को मार्नसक्छौं । नेपालमा हामी सबै कृषिको राजनीति गछौं । राजनीति पार्टीका नेता,कर्मचारी वा व्यवसायीहरु सबै कृषिको राजनीति गर्छौं । सबैभन्दा पहिला कृषिको कुरा गर्छौं । तर कृषिमा कसैलाई विश्वास छैन । जबसम्म हाम्रो कृषिमा सोच परिवर्तन हुँदैन,हामी किसान भएर सोच्दैनौं । ग्राउण्ड वास्तविकता हेरेर कुरा गर्दैनौं । काठमाडौंमा बसेर हामी नीति बनाउँदैनौं । गाउँमा गएर नीति बनाउँछौं । त्यो दिन मात्रै कृषिमा परिवर्तन आउँछ । हामी पालिकाहरुसँग जोडिन चाहन्छौं । काठमाडौंमा बसेर छलफल गर्दा सबै अनुमानित डेटाहरुको आधारमा योजना बनाउने काम हुन्छ । अनुमानित डेटा भएर काम हुँदैन । अहिले कसैलाई कृषिमा कसैलाई विश्वास छैन । हामीले सकारात्मक सोच ल्याए मात्रै परिर्वतन सम्भव छ । पछिल्लो समय हेरक समस्या भोग्नुपर्दा किसानहरुको समेत विश्वास हराएको छ । हाम्रो लागि कोही छैन भन्ने भएको छ । अब त्यसलाई तोडेर किसानलाई खुशी बनाउन हामी कम्मर कसेर लाग्छौं ।