जनता एग्रो : आर्गानिक कृषिदेखि साना किसान जोडेर आईपीओसम्म योजना

OnlineKhabar

३ जेठ, काठमाडौं । जनता एग्रो फरेस्ट्री प्रालिले बिहीबार ‘नेपाल कृषि प्रधान देश हो ?’ भन्ने बहस गरेको छ ।

कृषि क्षेत्रमा ठूलो लगानीको तयारी गरेको जनता एग्रोले परम्परागत खेती, रैथाने बाली संरक्षण र प्रवर्द्धन गर्दै नयाँ प्रविधिमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गरेको हो ।

जनता एग्रोका अध्यक्ष पवन गोल्यानले साना किसान जोडेर नेपालमा अर्गानिक खेती विस्तार योजना सुनाए । ‘हामीले साना किसानलाई कसरी कृषि उद्यममा जोड्न सक्छौं भनेर योजना बनाएका छौं, त्यही अनुसार केही ठाउँमा खेती पनि सुरु भइसकेको छ,’ गोल्यानले भने ।

उनले नेपालमा भइरहेको जग्गा उपयोग, बाँझो जग्गा उपयोगको विषयमा व्याख्या गर्दै त्यहाँ हुन सक्ने जडीबुटीजन्य खेती, रैथाने फलफूल खेतीको सम्भावना र अवसरबारे बताएका थिए ।

‘हाम्रो देशमा तराई, पहाड, हिमाली क्षेत्रमा पाइने जडीबुटी, फलफूलहरूको प्रशोधित सामग्री विश्वमा पुर्‍याउन सके कृषि क्रान्ति नै हुने थियो,’ उनले भने, ‘मेड इन नेपालको विश्वमा छुट्टै बजार छ, त्यसलाई हेरेर नेपालका किसानलाई जनता एग्रोले जोड्न सकिन्छ भनेर सुरु गरेका छौं ।’

पालिकाको अगुवाइमा करार खेती योजना 

करार खेतीमार्फत साना किसानलाई जोड्ने योजना सुनाउँदै उनले भने ‘हामीले तोकेको मापदण्डमा बाली, फलफूल उब्जाउ गर्न करार सम्झौतामा किसानलाई जोड्न खोजेका छौं । त्यसो हुँदा किसानलाई आफूले गरेको लगानी र त्यसले पाउने बजारको विषयमा पनि ढुक्क हुनेछ ।’

अर्गानिक फार्मिङको चुनौतीका विषयमा उनले नेपालले फलफूल, कृषि बाली तथा जडीबुटीजन्य पदार्थ आयातमा कर लगाउनुपर्ने बताएका छन् ।

‘नेपालमा प्रशोधन गर्ने उद्योगहरूका लागि चाहिने कच्चापदार्थमा आयात कर लगाउनुपर्छ, नेपालले उत्पादन गरेको वस्तुमा होइन । तर, हाम्रो त्यस्तो छैन,’ गोल्यानले भने ।

उनले जनता एग्रोमा जोडिने किसानलाई स्थानीय तहसहित उपस्थितिमा करार गरिने हुँदा किसानका विश्वास जितेर काम गर्ने बताए । उनले नेपालका कतिपय रैथाने बालीको ट्रेडमार्क अरूले नै लगिसकेको भन्दै उनले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

यस्तै जनता एग्रोका निर्देशक केशव रायमाझीले नेपालमा भइरहेको आयातका कारण जनता ग्रुपमा जोडिएर बृहत कृषिको विषयमा सोचेको बताए ।

‘हामीले नेपालमा कति आयात गर्छौं, त्यो तथ्यांक डरलाग्दो छ । यसलाई देखेर पनि मलाई जनता एग्रोमा जोडेर नेपालमा आर्गनिक फार्मिङ र निर्यात गर्न सक्ने वस्तु उत्पादन गर्नुपर्छ भन्ने लागेको हो,’ रायमाझीले भने ।

यस्तै जनता एग्रोकै सदस्य प्रेम लामाले आफूलाई बचाएको अर्गानिक खेतीले भन्दै यसलाई बृहत रूपमा अगाडि लैजानुपर्ने योजना सुनाए ।

‘अहिले मेरो आशापुरी कृषि फार्मले विभिन्न देशमा आर्गनिक कृषि उत्पादन गरिरहेको छ । विश्वमा यसको ठूलो मार्केट छ । अब मान्छेले खानासँगै स्वास्थ्य पनि हेर्न थालिसके,’ लामाले भने ।

यस्तै जनता एग्रोकै सदस्य परितोष पौडेलले एग्रो फरेस्ट्री प्रालिलाई ठूलो कम्पनीमा लैजाने योजना सुनाए । ‘हामीसँग अर्गानिक खेती र यसको उत्पादन तथा निर्यातका लागि चाहिने प्रमाणपत्र पनि छ । विश्वबजारमा यसको माग पनि छ । नेपालमा पाइने जडीबुटी, रैथाने बाली, फलफूल  तथा यसको प्रशोधित सामग्रीको ब्रान्डिङ गरेर विश्व बजारमा पुर्‍याउने लक्ष्य छ,’ पौडेलले भने ।

उनले प्रालिबाट लिमिटेडमा लैजाने गरी आईपीओ खोल्नेसम्मको योजना सुनाए । ‘नेपाल कृषि प्रधान देश हो भन्दै गर्दा यो कुरा उत्पादनले पनि देखाउनुपर्छ, त्यसैका लागि जनता एग्रोले योजना बनाएर काम गरिरहेको छ,’ उनले भने ।

जनता एग्रोले नेपालमा सम्भावित औषधिजन्य फलफूल, जडीबुटी, रैथाने बाली र त्यसको भूगोल अनुसार अवस्था पनि प्रस्तुत गरेको थियो ।