नेपालको गोल्यान ग्रुप र जर्मनीको ट्रयाक्टेबेलबीच दुई ठूला जलविद्युत् आयोजना अध्ययन सम्झौता

Ekagaj

काठमाडौं – गोल्यान ग्रुपले प्रवद्र्धन गर्न लागेको माथिल्लो मुगु कर्णाली (३०६ मेगावाट) र नामलान खोला (१३५ मेगावाट) जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ, वातावरणीय/सामाजिक अध्ययनका लागि जर्मनीको ट्रयाक्टेवेल इन्जिनियरिङ जीएमवीएचसँग सम्झौता भएको छ ।

ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानसहित कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल र  परामर्शदाता ट्रयाक्टेवेलका नेपाल शाखा प्रबन्धक कार्सटेन गुन्टारमानबीच सम्झौतामा हस्ताक्षर भयो ।

गोल्यान ग्रुपको ऊर्जा व्यवसाय अन्तर्गत इलेभेट इनर्जी प्रा.लि. र एपोलो इनर्जी प्रा.लि. ले अर्धजलाशययुक्त आयोजनाका रुपमा माथिल्लो मुगु कर्णाली र नामलान खोला विद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । 

माथिल्लो मुगु कर्णाली आयोजना कर्णाली प्रदेशको मुगु जिल्लाको मुगुम कर्मारोङ गाउँपालिकामा पर्छ भने नामलान खोला मुगु जिल्लाकै छायानाथ रारा नगरपालिकामा पर्छ । 

गोल्यान समूहले यी दुई आयोजना अध्ययन गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त संस्थान (डीएफसी) बाट प्राविधिक सहायता प्राप्त गरेको छ । 
नेपालको बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को विस्तृत अध्ययन तथा डिजाइन गरिसकेको ट्रयाक्टेवेलले यी दुई आयोजनाको सम्पूर्ण विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत इन्जिनियरिङलगायतका कार्य आगामी २० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको गोल्यान ग्रुपले जनाएको छ । 

ट्रयाक्टेबेल जलविद्युत् आयोजनाहरूको अध्ययनका लागि विश्वव्यापी रुपमा प्रसिद्ध इन्जिनियरिङ परामर्शदाता कम्पनीहरूमध्ये एक हो । यो कम्पनीले नेपालका विभिन्न जलविद्युत् आयोजनाहरूमा सफलतापूर्वक कार्य सम्पन्न गरिसकेको इतिहास छ । 

गोल्यान समूह नेपालमा मुख्यालय रहेको निजी क्षेत्रको अग्रणी व्यावसायिक समूह हो । यो समूहले वार्षिक ४० करोड अमेरिकी डलरभन्दा बढी कारोबार गर्दै आएको छ । समूहसँग पाँच हजारभन्दा बढी जनशक्ति आबद्ध छन् ।

आफ्नो विविध सहकार्यहरूमार्फत गोल्यान ग्रुपले नेपालको आर्थिक र सामाजिक आधारहरू बलियो बनाउने प्रयास गर्दै आएको छ । यो समूहले स्वच्छ र नवीकरणीय ऊर्जाले पृथ्वीलाई राम्रो ग्रह बनाउन मद्दत पुग्ने भन्ने कुरामा दृढ विश्वास राख्दै आएको छ ।