‘नेपालको दिगो विकास गर्ने योजना अभियानको छ’

AnnapurnaPost

रुट्स अफ नेपालको अवधारणा कसरी विकास भयो ?

गोल्यान ग्रुपले लामो समयदेखि उद्योग व्यवसायमा काम गर्दै आइरहेको छ। यसले ५ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ। तर, पनि हामीले यो समाजको दिगो विकासका लागि थप केही गर्न सक्छौं कि भनेर आन्तरिक रूपमा नै छलफल चलायौं। 

छलफल गरिरहँदा नेपालको मुख्य समस्याको रूपमा युवा विदेश पलायनलाई कसरी रोक्ने विषयमा हाम्रो ध्यान गयो। नेपालमा रोजगारीको अवसर नहुँदा र भविष्य सुरक्षित नदेख्दा युवा विद्यार्थी विदेश पलायन भइरहेका हुन्। ती युवालाई नेपालमा नै कसरी रोक्न सकिन्छ ? र नेपालमा अवसरको क्षेत्र कुन–कुन हुन् भनेर हेर्दा ४ क्षेत्र पहिल्यायौं। यी क्षेत्र भनेको नेपालको प्रचुर सम्भावना भएका क्षेत्रहरू हुन्। अनि नेपाललाई बनाउने काम भनेको युवाहरू नै हुन्। ‘माइन्ट सिफ्ट गर्ने प्रयास स्वरूप रुट्स अफ नेपाल अवधारणा अघि सारिएको हो। 

रुट्स अफ नेपालमा नै किन ?
नेपालको आर्थिक सामाजिक विकासलाई दिगो बनाउनका लागि यो अभियान अघि बढाइएको हो। यसका लागि नेपालमा प्रकृतिले दिएका रैथाने वा स्थानीय वस्तुको विकास कसरी गर्न सकिन्छ भन्ने हो। नेपाल कृषि, उर्जा र पर्यटनमा प्राकृति रूपमा नै धनी देश छ।

यस्तै बढ्दो आयातलाई न्यूनीकरण गर्न आन्तरिक उत्पादनमा जोड दिनका लागि उत्पादनमूलक उद्योगलाई पनि अघि बढाउन सकिन्छ भन्ने पनि यो अवधारणाले देखाउँछ। नेपालको विकासको मुख्य कडी नै कृषि, ऊर्जा, पर्यटन र उत्पादनमूलक उद्योग भएकाले हामीले यी उद्योगहरूको समस्या, चुनौती र अवसरका सम्बन्धमा युवालाई संलग्न गराएर अघि बढाउने सोच बनाएका छौं। नेपालबाट हामीले बेच्न सक्ने भनेको नै कृषि हो, ऊर्जा हो, पर्यटन हो। गोल्यान गु्रपले यी क्षेत्रमा काम त गर्दै छ तर यसमा युवा जनशक्तिलाई पनि विकासको एउटा रुट्स मानी उनीहरूकोे संलग्नता बढाएर नविनतम प्रयास गर्ने हाम्रो उद्देश्य छ।
 
रुट्स अफ नेपालअन्तर्गतको केस च्यालेन्ज के हो ?
रुट्स अफ नेपालले बढाएको ४ क्षेत्रमा सबैभन्दा पहिला कृषिलाई अघि सारिएको छ। केस च्यालेन्जअन्तर्गत मास्टर र ब्याचलर अध्ययनरत विद्यार्थीले ४ जनाको समूह बनाएर प्रतियोगितामा भाग लिएका छन्। पहिलो चरणमा २० समूह अघि बढ्दै छन्। यीबाट अन्तिम चरणमा ५ जनाको समूह चयन गरिने छ।

यसमा सहभागी विद्यार्थी समूहले कृषि क्षेत्रको मुख्य समस्या के हो, चुनौती के छ र समाधान गर्न के गर्न सकिन्छ भनी केस स्टडी रिपोर्ट बनाउनुपर्ने छ। यसमा उनीहरूले समस्या समाधान गर्न के गर्न सकिन्छ भनी रचनात्मक सोच, र रणनीतिक निर्णय पनि दिनुपर्ने हुन्छ। उनीहरूमध्येको उत्कृष्ट केस स्टडीलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्‍याउने काम गरिने छ। यसका साथै ती विद्यार्थीलाई रोजगारीको अवसर पनि दिइने छ। दोस्रो चरणमा ऊर्जा, त्यसै गर्दै ४ वटै क्षेत्रमा नै यसरी नै अघि बढिने छ। 

यो अभियानले सम्बन्धित सरोकारवालालाई कसरी सहयोग गर्छ ? 

अभियानका प्रस्तावित ४ क्षेत्रमा महत्वपूर्ण अवसर छन्। तर, सरकारी प्रक्रिया, नीति, नियमका कारण अल्झन छन्। यी अल्झनलाई सुल्झाउन सके यसमा आबद्ध व्यवसायी मात्र नभई सर्वसाधरणले पनि छिटो र सहज रूपले सेवा र सुविधा पाउने छन्। त्यसकारण केस च्यालेन्जमार्फत् यी क्षेत्रमा भएका समस्या पनि थाहा हुन्छ, भने आवश्यक नीतिगत सुधार पनि थाहा हुन्छ।

यो रिपोर्ट सरकार वा सम्बन्धित निकायलाई बुझाउँदा ध्यानाकर्षण पनि हुन्छ। अभियानले पारदर्शी रूपमा नै काम गर्ने छ। युवा जनशक्तिसँगै समाजको प्रतिनिधि हुने छ। अब हामीले अभियानबाट दिएका सुझावलाई कसरी लिने भन्ने सरोकारवालाको नै हात हुनेछ। हामीले पारदर्शी रूपमा समस्या र उपायसहितको अध्ययन रिपोर्ट बुझाउने छौं।
 
रुट्स अफ नेपाल अभियानले भोलिका दिनमा कसरी काम गर्ने छ ?

यो अभियानलाई दिगो रूपमा नै अघि बढाउने हाम्रो सोच छ। यसअन्तर्गत पहिलो चरणमा केस स्टडी गर्दैछौं। यसमा एक, दुई, तिन गरेर समस्या र उपायको खोजी गर्नेछौं। चार क्षेत्रका नै केस च्यालेन्ज सकेपछि यसलाई पेपरमा प्रकाशित गर्नेछौं। यी रिपोर्टलाई सम्बन्धित मन्त्रालय, सम्बन्धित निकाय तथा सरोकारवालालाई बुझाउने छौं। 

यस्तै, युवा उद्यमशीलताको विकास गर्न उद्यमशीलता फोरम बनाउने सोचमा छौं। यो फोरमलाई उद्यमशीलतासम्बन्धी आवश्यक तालिम र लगानी पनि उपलब्ध गराउने भन्ने छ। हाम्रो उद्देश्य भनेको नै नेपाललाई अघि बढाउन नेपाली युवा जनशक्तिलाई अघि सार्दै नेपाली रैथाने वा स्थानीय वस्तु तथा सेवाको विकास गर्ने भन्ने छ।