यात्राले मलाई आफ्नो क्षमताबारे थाहा दिएको छ : अक्षय गोल्यान

Makalukhabar

पहिलो विदेश यात्रा गर्दा अक्षय गोल्यान सात वर्षका थिए । उनीहरू परिवारसहित घुम्न केन्या गएका थिए । 

त्यहाँ उनले ठुलो ठुलो जनावर देखे । नयाँ अनुभव गरे । त्यो अनुभव उनले नेपालमा हुँदा गरेका थिएनन् । त्यसैले पनि त्यो यात्रा पृथक् भइदियो । 

बच्चा बेलामा नै भएको भएर त्यसले उनको दृष्टिकोण नै परिवर्तन त भएन । तर त्यसपछि गरेका यात्राले भने धेरै कुरा सिकाइरहे  ।  

‘यात्राले के दिन्छ त ?’

जवाफमा उनी भन्छन्, ‘देशभित्रको होस् या देशबाहिरको, यात्राका क्रममा धेरै नयाँ मान्छे भेट्न पाइन्छ । विभिन्न खाले संस्कृति सिक्न पाइन्छ । उनीहरूको लाइफस्टाइल कस्तो हुन्छ संस्कृति कस्तो हुन्छ, खानेकुरा कस्तो हुन्छ, अन्तर्क्रिया कस्तो हुन्छ सबै देख्छ पाइन्छ ।’ 

थप्छन्, ‘यात्रा त्यसैले पनि जरुरत छ । यो हरेक मान्छेको लागि सिक्न पाउने अवसर हो ।’ 

यात्राका क्रममा धेरै ठाउँमा धेरै खाले अनुभव उनले लिएका छन् । नेपाल बाहिरका वा नेपाल भित्रका सबैतिरका सम्झनाहरू छन् । 

झापामा गोल्यान ग्रुपले कमर्सियल फार्मिङ सुरु गरिरहेको थियो । त्यस बेला नै उनी झापाको देहातमा पुगे । बाटो नभएको ठाउँ । गाडीमा अफरोड गुडेर । त्यहाँ गाउँमा नै बसे । त्यहीँको खाना खाए । 

‘कस्तो थियो त्यो ठाउँ ?’

उनी भन्दै गए, ‘त्यहाँ एकदमै साधारण जीवन हुन्छ । केही टेन्सन नै हुँदैन । इन्टरनेट छैन । शहरमा भएको जस्तो के गर्ने कसो गर्ने भन्ने खाले सबै झन्झट र अप्ठ्यारोबाट मुक्त । खेतीपाती गर्ने । बच्चाहरूसँग बोल्ने । परिवारसँग बस्ने । उनीहरूको पनि समस्या त हुन्छ तर उनीहरू हामीभन्दा आधारभूत रूपमा धेरै बलियो हुन्छन् ।’ 

उनलाई लाग्छ हामीले उनीहरूबाट सिक्न पर्ने धेरै कुरा छ । 

नेपालमा मात्र हैन उनले विश्वका धेरै स्थानमा भएका मानिस वा तीनको जीवनशैली हेरेर धेरै कुरा सिकेका छन् । 

उनी र उनको श्रीमती विदेश यात्रामा अक्सर अफ्रिका गइरहेका हुन्छन् । नेपालमा चितवन । दुवैको समानता छ । दुवैले जङ्गल पुर्‍याउँछन् । 

दुई तीन वर्ष पहिलाको कुरा हो । उनीहरू अफ्रिका गएका थिए । उनीहरूलाई सफारीमा लैजाने एक जना गाइड थिए । उनले धेरैतिर लगेर जङ्गलमा बाघहरू देखाउँदै थिए । उनले हाम्रो देशमा पनि बाघ भएको कुरा त्यो कुरा गाइडलाई सुनाए । 

‘अब तीस मिनेट यहाँ हेर्नु अनि कस्तो लाग्छ भन्नु,’ गाइडले भने । 

तीस मिनेट बित्यो । उनीहरूले हात्तीदेखि सिंहसम्म अनि जिराफसम्म सबै हेरिसकेका थिए । उनीहरूकै वासस्थानमा । कसैले केही डिस्टर्व नगरेको ठाउँमा । 

उनीहरू ड्राइभ गरिरहेको बेलामा ड्राइभरले भने ‘यो उनीहरूको संसार हो अनि हामी उनीहरूका पाहुना हौँ ।’

त्यो कुरा उनको दिमागमा रहिरह्यो । एक मानवको रूपमा धेरै कुरा सोच्ने बनाइरह्यो । 

‘ठ्याक्कै के सिकायो ?’

‘हामी मानव अनेक बिल्डिङ बनाउँछौँ । हामी आफूलाई सहज बनाउन प्रविधि वा अन्य कुरा पनि बनाउँछौँ । तर हामी सबै यो विश्वका पाहुना हौँ । हामी जनावरभन्दा फरक केही छैनौँ । हामीले प्रकृतिलाई संरक्षण गर्नुपर्छ । र धेरैजसो कुरा जस्तो अवस्थामा छन् त्यस्तो अवस्थामा नै छोड्नलाई प्रयास गर्नुपर्छ । प्रकृतिलाई धक्का पुर्‍याउनुहुँदैन ।’

उनी केही वर्ष पहिला मनाङ गएका थिए । त्यहाँको लोकल मान्छेसँग अन्तर्क्रिया गरेका थिए । 

‘तपाईँहरू कहाँबाट आउनुभएको ?’ उनीहरूले सोधे । 

‘काठमाडौँबाट,’ उनले जवाफ दिए । 

‘काठमाडौँ ठाउँ ठिक छैन । त्यहाँ धेरै समस्या आइसक्यो । यहाँ त्यो समस्या नल्याइदिनुहोला ।’

त्यहाँ अरू केही टुरिस्ट हिँडिरहेका थिए । एक जना टुरिस्टको ब्यागबाट प्लाष्टिक खस्यो । त्यो देखेर अलिक परबाट एउटा केटा आयो अनि राम्रो अङ्ग्रेजीमा भन्यो ‘सर यो हाम्रो गाउँमा फोहोर नगरिदिनुहोला । यो काठमाडौँ हैन ।’

त्यसरी वातावरणलाई सफा राखेको र आफ्नो गाउँलाई सफा राखेको कुराले उनलाई प्रभाव पार्‍यो । 

उनी थोरै लजालु मान्छे हुन् । तर यात्राको क्रममा भने अर्को यात्रुको आधारमा उनको धेरै कुरा फरक पर्छ । केही वातावरणमा उनले अरूसँग कुरा गर्न अप्ठ्यारो पनि मानेका छन् । केही ठाउँमा बोल्ने वातावरण राम्रो र सहज हुँदा मज्जाले बोलेका पनि छन् । मान्छेको भाइवको आधारमा उनको बोल्ने कि नबोल्ने भन्ने कुरा पनि हुन्छ । 

यात्रामा सँगै हिँडेका अन्य यात्रुबाट पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने उनलाई लाग्छ । त्यसैको आधारमा पनि कहिले आफूले त कहिले उनीहरूले बोलाएर बोल्ने गरेको उनको भनाई छ । 

उनलाई अर्को एउटा सम्झना छ । सन् २०१८ मा मङ्गोलियामा सोलो ट्रिप गएका थिए । त्यहाँ भएको एक घुमन्ते परिवारसँग उनी घुमेका थिए । उनीहरू टेन्टमा बस्ने परिवार थिए । मौसम अनुसार यता उता घुमफिर गरिरहेका हुन्थे । उनीहरूलाई खाना किन्न कतै जानु थिएन । मोबाइल थिएन । इन्टरनेट पनि थिएन । उनीहरू आफ्नो आवश्यकताअनुसार सामाग्री जुटाउँथे । खानाको लागि सिकार गर्थे । 

त्यो १० दिनमा उनले कुरा गर्न सक्ने मान्छे भनेको नै उनको गाइड थियो । माइनस २० डिग्री सेल्सियससम्म झर्ने तापक्रम थियो । त्यो यात्रा गाह्रो थियो । तर त्यसले उनलाई धेरै कुरा सिकायो पनि । 

‘सबैभन्दा ठुलो कुरा त मानिसको रूपमा हामी कति धेरै शक्तिशाली छौँ भन्ने सिकायो । सँगै हामीलाई फाइदा पुर्‍याइरहेका इन्टरनेट जस्ता चिजहरू नहुँदा पनि कसरी बाँच्न सकिने रहेछ भन्ने सिकायो ।’

यो हाम्रो जरुरत हो, यसले हामीलाई साथीभाइहरूसँग सम्पर्कमा रहनदेखि अन्य काममा सहयोग नै पुर्‍याइरहेको छ तर त्यो नभए पनि बाँच्न सकिने रहेछ भन्ने उनले बुझे । 

उनलाई त्यो यात्राले आफ्नो क्षमताबारे पनि थप बुझ्ने बनाइदियो । केही दिन सबैथोकबाट छुटेर हेर्दा उनले आफ्नो जीवनको एक महत्त्वपूर्ण अनुभव हासिल गरे । 

त्यो यात्राको क्रममा एउटा ठाउँ थियो, जहाँ उनी दैनिक बिस मिनेटसम्म हिँडेर परिवारसँग बोल्न जान्थे । केही दिन त गए । तर केही दिनमा उनले परिवारलाई ‘म इन्टरनेट नभएको ठाउँमा छु । म तपाईँहरूलाई केही दिनमा खबर गर्छु ।’ भन्न सके । त्यसो भन्दा उनलाई सुन्दर अनुभव भयो । 

समयक्रमसँगै उनको घुम्ने तरिका पनि फेरिएको छ । पहिला पहिला परिवारसँग जाँदा छान्ने अवसर हुँदैन थियो । उहाँहरू जता गयो त्यतै जानुपर्थ्यो । के गर्ने, कहाँ जाने,  के हेर्ने लगायत कुरा उहाँहरूकै हातमा हुन्थ्यो । 

तर अहिले त्यो फेरिएको छ । अहिले उनलाई प्रकृति भएको ठाउँमा घुम्न जान मनपर्छ । जङ्गल वा हिमाल, वा मरुभूमि भएको ठाउँमा जान मनपर्छ । बिल्डिङहरूले खासै तान्दैनन् । शहरमा गएर मजा आउँदैन । कन्ट्रिसाइडले धेरै मन तान्छ । 

कुनै पनि ठाउँमा वा देशमा जाँदा त्यो देशमा भएका केही चर्चित ठाउँहरू त पुग्छन् नै । तर धेरैजसो उनलाई समुदायसम्म पुग्न मनपर्छ । संस्कृतिसँग भिज्न मनपर्छ । उनीहरू जे गर्छन् त्यो गर्न मनपर्छ । उनलाई कुनै पनि ठाउँको इतिहाससँग रुचि छ । त्यहाँ के के भएको थियो त्यहाँ कसरी पुग्यो भन्ने कुरामा पनि उनी धेरै चासो राखिरहेका हुन्छन् । 

यात्राको क्रममा भेटेका अनेक मान्छे अनि तीनको अनुभवबाट गरेको सिकाइले उनलाई धेरै कुरा सिकाएको छ । कुनै पनि मान्छेलाई सबै कुरा थाहा हुँदैन । कुनै परिस्थितिलाई हेर्ने हरेकको फरक फरक तरिका हुन्छ । अरू व्यक्तिसँग त्यो अवस्थाबारे कुराकानी गर्दा उनीहरूको दृष्टिकोण फरक भएको थाहा हुन्छ । उनलाई लाग्छ हामीले एउटै कुरालाई पनि फरक फरक तरिकाले बुझ्नु जरुरी हुन्छ । 

भन्छन्, ‘त्यसो हुँदा हाम्रो दिमाग खुल्छ । अनि हामी कुरालाई बृहत् ढङ्गबाट सोच्न सक्छौँ ।’ 

यात्राको क्रममा उनले लिएको सबैभन्दा ठुलो कुरा नै फरक फरक मान्छेबाट फरक फरक कुरा सिक्न पाउनु हो । उनलाई नेपालका गाउँ शहरभन्दा धेरै स्वच्छ र सफा भएको जस्तो लाग्छ । उनीहरूको बुझाइमा स्पष्टता पाउँछन् । 

उनको व्यवसायले पनि हस्पिटालिटीको क्षेत्र छोएको छ । नेपालको पर्यटन राम्रो हुँदै गएको देखिएको छ । पछिल्लो केही महिनाको डेटा कोभिड सुरु हुनुभन्दा पहिलाको डेटासँग मिल्दोजुल्दो देखिएको छ । यो पक्कै पनि सुखद भएको उनलाई लाग्छ । 

‘नेपाल प्राकृतिक रूपमा भव्य ठाउँ हो । यहाँको वातावरणको विविधता अनौठो छ । काठमाडौँलाई नै हेर्ने यो भने पनि यहाँको मौसम विविध छ । पानी परिरहन्छ । आकाश खुलेको बेलामा हिमाल पनि देखिन्छ । संसारमा यस्तो ठाउँ थोरै नै छ । भगवानले उपहार पठाएको जस्तो लाग्ने यो सुन्दर ठाउँमा पर्यटनको लागि आवश्यक पूर्वाधार बनाउन सके र राजनैतिक स्थिरता दिने हो भने पर्यटन बढ्दै जान्छ । हामी दक्षिण एसियाको सबैभन्दा धेरै मान्छे पुग्ने देश बन्न सक्छौँ’ उनी विश्वस्त हुँदै भन्छन् । 

‘हामीसँग हिमाल छ,  लुम्बिनी छ, पोखरा छ । हामीसँग तराइमा धेरै कुरा छन् ।’

तर त्यसको लागि पूर्वाधार बनाउँदा धेरै कुरा ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘केही देशमा रिभर नजिकै वा जङ्गल नजिकै स्थायी संरचना बनाउन पाइँदैन । चितवनमा पनि राम्रै रिसोर्टहरू आएको छ । त्यसले पनि वाइल्डलाइफलाई ध्यान दिएको छ ।’

‘पर्यटन बढाउन हामीले मुख्यतः पूर्वाधारमा ध्यान दिनुपर्छ । पहुँचमा ध्यान दिनुपर्छ । काठमाडौँबाट दुई तीन घण्टाको दूरीमा पुग्न सकिने रिपोर्टहरू खुलेको छ । त्यहाँसम्म पुग्ने पहुँच सजिलो भयो भने पर्यटन बढ्छ ।’ 

उनको कोअपरेसन अर्थात् गोल्यान ग्रुपको लगानीमा पनि हस्पिटालिटी क्षेत्र प्राथमिकतामा छ । काठमाडौँमा ‘हायात प्लेस’ नामको एउटा होटल आइसकेको छ । लुम्बिनीमा रिसोर्ट खोल्ने योजनामा छन् । त्यसबाहेक जनकपुर र पोखरामा पनि खोल्ने योजना भइरहेको छ । काठमाडौँबाट दुई वा अडाइ घण्टाको दूरीमा पनि खोल्ने योजना भइरहेको छ । 

ती सबै संरचना निर्माणको क्रममा उनीहरूले बनाउने हरेक संरचनामा नेपाली आर्किटेक्चर अटाउँदै छन् । लबीमा अहिले पनि नेपालीपन झल्काउने संरचना छ । त्यहाँ प्रयोग हुने हरेक सामाग्री नेपालमा नै बनेको चलाउने पनि उनीहरूले योजना बनाइरहेका छन् । लोकल नेपाली आर्टिस्टबाट आर्टवर्क लिइरहेका छन्, हस्तकलाका सामाग्रीहरू पनि यताको नै चलाइरहेका छन् । लुम्बिनीमा त झन् त्यसको आर्किटेक्चरल प्लानिङमा लोकल समुदायलाई पनि सहभागी गराइरहेका छन् । त्यसको डिजाइन लोकल संरचनाबाट नै प्रभावित हुने कुरा उनी बताउँछन् । 

अहिले पनि उनी घुमिरहेका हुन्छन् । व्यवसायीको रूपमा यात्रा गर्दा उनी त्यसको उद्देश्यमा मात्र केन्द्रित हुन्छन् । त्यस बेला यताउता घुम्दैनन् । तर घुम्नकै लागि घुम्दा भने समय छुट्याउँछन् । त्यो स्थानको लागि पर्याप्त ध्यान दिन्छन् । 

अहिले पनि बेलाबेला उनलाई बच्चा जसरी घुम्ने कुरा याद आइरहन्छ । त्यो बेला कुनै जिम्मेवारी थिएन । दिमागमा यति धेरै कुरा थिएन । दिमाग धेरै स्वतन्त्र थियो । 

उनलाई कहिलेकाहीँ लाग्छ तिस वर्ष पहिलाको मान्छे हुन पाए हुन्थ्यो । पूर्ण स्वतन्त्रता लिएर कुनै कुराको चिन्ता नलिई हिँड्न पाए हुन्थ्यो । हरेक पललाई त्यसरी नै समात्न पाए हुन्थ्यो । 

उनी चाहन्छन् त्यो दिन कुनै बेला आओस् । 

अनि उनलाई थाहा छ यो कुरा बेलाबेला आइरहन्छ पनि ।