४४१ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीको अनुदान

Source: Ratopati

सोमबार, २५ पुस २०७९संग्रह

काठमाडौँ । गोल्यान समूहले निर्माण गर्न लागेका ४४१ मेगावाट क्षमताका दुई वटा आयोजनाको सम्भाव्यता अध्ययन गर्न अमेरिकी विकास लगानी संस्था (डीएफसी) ले अनुदान सहयोग गर्ने भएको छ । ३०६ मेगावाटको अपर मुगु कर्णाली र १३५ मेगावाट क्षमताको नामलान खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीले अनुदान दिने भएको हो ।

नेपालमा निर्माण हुने जलविद्युत आयोजनाहरूको सम्भाव्यता अध्ययनमा पहिलोपटक अमेरिकी लगानी आउन लागेको गोल्यान समूह अन्तरगर्तका इलिभेट इनर्जी र एपोलो इनजीर्ले यी २ आयोजना अघि बढाइरहेका छन् । यी आयोजनाको सम्भाव्यता अध्ययन गर्न करिब १ करोड अमेरिकी डलर लगानी चाहिनेछ । जसको ५० प्रतिशत रकम अनुदान दिने सम्झौता डीएफसीले गरेको हो ।

डीएफसीले नगदमै सम्भाव्यता अध्ययनको रकम दिने सम्झौता गरेको गोल्यान समूहको इनर्जी डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले जानकारी दिए । उनले पछिल्लो गोल्यान समूहले ऊर्जा क्षेत्रमा लगानी बढाइरहेको र यसैको सहायतास्वरुप डीएफसीले लगानी गर्न लागेको जानकारी दिए । ‘गोल्यान समूहले करिब ९०० मेगावाट क्षमताका आयोजना अघि बढाइरहेको छ,’ अर्यालले भने, ‘सन् २०३० सम्म हामी निजी क्षेत्रतर्फ नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादक बन्छौं ।’