मुलुकको अर्थतन्त्रको तस्बिर कस्तो छ ?
अहिले अर्थतन्त्र बिरामी छ। यस्तो हुनुमा हामी सबै दोषी छौं। सरकार, राष्ट्र बैंकलाई मात्रै दोष दिएर हुँदैन। कोभिडका बेला रेमिट्यान्स आउँदैन, पैसा चलायमान बनाउनुपर्यो, यो नभए अर्थतन्त्र सेलाउँछ भन्ने महसुस सबैले गर्यौं। यस्तो दबाबका कारण बजारमा पैसाको राम्रो फ्लो भयो। तर, त्यो पैसा उत्पादनमूलक क्षेत्रमा जाँदै गएन। अधिकांश पैसा सेयर, मार्केट र घरजग्गामा गयो। यी क्षेत्रले बढी कर्जा पाएपछि गाडी, मोटरसाइकल किने। म पनि यसको उत्तरदायित्व लिन्छु। लगानीको बढी हिस्सा अनुत्पादकमा गयो। यसले गर्दा आयात बढ्यो। यसो हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्यो। त्यो बेलामा अर्को गल्ती पनि भयो।
कस्तो गल्ती ?
सरकारले बिलासिताका वस्तु रोक्नुभन्दा भन्सार बढाइदिएको भए हुन्थ्यो। कोभिड कर लगाएर आन्तरिक बजारमा उपलब्ध भएका कृषिजन्य वस्तु जस्ताको आयातमा भन्सार बढाइ दिएको भए उपयुक्त हुन्थ्यो। यसो हँुदा तीन तहको सरकार चलाउन राजस्व पनि राम्रै उठ्थ्यो। जुन अहिलेको जल्दोबल्दो समस्या छ। सयकिलो मिटरमा स्पिडमा हिँडिरहेको गाडीलाई झ्याप्पै ब्रेक लगायो भने दुर्घटना हुने सम्भावना हुन्छ। यतिबेला ठ्याक्कै त्यही भयो। एकातिर आयात रोकियो, अर्कोतर्फ राजस्व घट्यो। त्यही बेलामा नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जाको गाइडलाइन ल्यायो। गाइडलाइन ल्याउनु गलत थिएन। तर, समय उपयुक्त भएन। त्यसले अर्को समस्या जन्मायो। पुरानो बढेको पैसा प्रणालीमा एकैचोटी फर्काएर ल्याउन सम्भव भएन। कर्जा लिएर लगानी भइसकेको पैसा एकै पटक त उठ्दैन। त्यसैले गर्दा अर्थतन्त्र सेलाएको हो।
मुलुकको अर्थतन्त्रमा गोल्यान समूहकोे योगदान कस्तो छ ?
मुलुकको दिगो विकासको लक्ष्य भनेका कृषि, ऊर्जा, पर्यटन क्षेत्र हुन्। अर्थात् आयात प्रतिस्थापन र निर्यातमुखी उत्पादन हुन्। गोल्यान समूहको लगानी यिनै ४ क्षेत्रमा आधारित छ। ५० वर्ष अगाडि लगानी गर्दा नै हामीले आयातमुखी होइन निर्यातमुखी उद्योगहरूमा लगानी गरेका हौं। नेपालमै उत्पादित धागो उद्योगबाट मुलुकको संस्कृति, सम्पदा र सौन्दर्य विकासमा योगदान गर्दै आएको छ। यो उद्योगमा करिब ५ हजार जनाले काम गर्छन्। धागो उद्योग सञ्चालन भएको २७ वर्षको इतिहास छ। अहिलेसम्म बन्द भएको छैन। जबकि कोभिडको बेलामा पनि १९ दिनमात्रै बन्द भयो। धेरैले त्यो बेला कर्मचारी कटौती गरेर खर्च घटाउन लागे। हाम्रो व्यवस्थापन भने कसरी उद्योग जोगाउने र मापदण्ड पूरा गरेर चलाउने भन्नेमा तल्लीन रह्यो। यससँगै २ वटा उद्योगबाट हामीले पश्मिना स्विटर र सल बनाएर २० वटा देशमा निर्यात गर्दै आएका छौं। धागो सबैभन्दा बढी टर्की र भारतमा निर्यात गर्छौं। यससँगै सन् २००० मै शिवम् प्लास्टिक उद्योग स्थापना गरेर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएको छ। हामीले कृषिमा टनेलका लागि प्रयोग गर्ने पाल बनाउँछौं। हार्भेस्टिङ गर्नका लागि प्रयोग गर्ने प्लास्टिक र सिमेन्ट राख्ने बोरा बनाउने गरेका छौं।
रोजगारी नपाएर युवाहरू बिदेसिने गरेका छन्, उनीहरूलाई स्वदेशमै रोक्ने उद्योग छैनन् ?
हामीले नेपालमा धेरैभन्दा धेरैलाई काम दिएका छौं। धेरैलाई रोजगारी दिने र सबैभन्दा बढी स्वदेशी उत्पादन निर्यात गर्ने समूह हाम्रो हो। यसैकारण सरकारबाट ३ वर्षअघि सीआईपी अवार्ड अर्थात् ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ अवार्ड पनि मैले पाए। मसँगै युवापुस्ताको उद्यमी भनेर छोरालाई पनि सीआईपी अवार्ड प्राप्त भइसकेको छ।
जलस्रोत र सोलार पावरमा गरेको लगानीको स्थिति के छ ?
करिब डेढ वर्षअघि हामीले ३६ मेगावाटको बलेफी हाइड्रोपावर आयोजना सम्पन्न गर्यौं। त्यसमा अन्य साथी पनि आबद्ध छन्। अब गोल्यान समूहको मुख्य लगानीमा ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजना र सिन्धुपाल्चोकको अप्सुवामा ५४ मेगावाटको जलविद्युत् आयोजना बन्दैछ। पीपीए हुने क्रममा छ। यसका लागि हामी ३ वर्षदेखि नै तयार थियौं। तर, पीपीए रोकेकाले ढिला भयो। यसबाहेक कर्णालीको मुगु खोला र नाम्लाङ खोलामा साढे ४ सय मेगावाटको विद्युत् उत्पादन गर्ने प्रक्रियामा छौं। त्यसको सम्भाव्यता अध्ययन भइरहेको छ। यसबाहेक नेपालगञ्जमा २० मेगावाटको सोलार पावर उत्पादन गरेर विद्युत् प्राधिकरणमा जोडिसकेका छौं। अरू २ ठाउँबाट ४० मेगावाटको सोलार पावर उत्पादनको अन्तिम तयारीमा छौं। ऊर्जाबाहेक बैंक वित्तीय संस्था, बिमामा २५ वर्षदेखि लगानी छ। एनएमबी बैंकको अध्यक्षको कार्यभार सम्हालिरहेको छु। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को पनि अध्यक्ष छु। यससँगै नेपाल लाइफ इन्स्योरेसमा लगानी छ।
व्यवसायलाई कसरी अर्को पुस्तामा हस्तान्तरण गर्दै हुनुहुन्छ ?
५ वर्ष अगाडि छोरा र भतिजालाई प्रायः व्यवसाय जिम्मा लगाइसके। अब देशका लागि सामाजिक सेवा गर्ने सोचका साथ अघि बढेको छु। कमाउनु पुगिसक्यो। अब माटो र किसानको हितमा खट्ने सोच बनाएको छु। देशमा ६० प्रतिशतभन्दा बढी किसान छन्। उनीहरू हाम्रा अन्नदाता हुन। तर, सबैभन्दा पीडित किसानहरू नै छन्। यसैले किसानका लागि केही गर्नुपर्यो भनेर गोल्यान ग्रुपको सीएसआर (संस्थागत सामाजिक उत्तरदायित्व) बाट झापाको एक गाउँमा किसानलाई अर्गानिक खेती गर्न सिकाउन लागे। धेरै रासायनिक मल र किटनासक औषधिको प्रयोगले माटो बिग्रिनुका साथै उत्पादित वस्तु उपभोग गर्ने सबैको स्वास्थ्यमा प्रभाव पर्छ। त्यसैकारण, अर्गानिकमा जोड दिएका छौं। किसानमा छाला रोग र क्यान्सर धेरै देखा पर्न थाल्यो। यसलाई रोक्न अर्गानिक खेती हुनुपर्यो भनेर यस्तो कदम चालेका हौं। हाम्रो माटो बिग्रिएको छ। माटो भनेको हाम्रो आमा हुन्।
आमा खुसी भइनन् भने खाना कहाँबाट राम्रो हुन्छ ? यसैका लागि आमा खुसी पार्न माटोलाई स्वस्थ बनाउनु पर्यो। यसकारण यस्तो कार्यक्रममा लाग्दा उत्पादन धेरै राम्रो भयो। सुरुवाती चरणमा किसानसँग करार खेतीबाट गर्यौं। जहाँ १ सय ६० बिघा जमिनमा अर्गानिक खेती भइरहेको छ। यहाँ कालानुनीया धान, रातो वासमती, मेवा, ३४ थरीका कागती, ब्लु टीदेखि हर्वल चियामा पर्ने तुल्सी, पेपरमेन्ट, रोजिला, क्यामोमाइल, लेमन ग्रासलगायत गरेर ५० प्रकारका उत्पादन हुने गरेका छन्।
माटो स्वस्थ बनाउने अभियान कहाँ–कहाँ फैलाउँदै हुनुहुन्छ ?
झापाबाहेक आशापुरीमा ५० रोपनीमा अर्गानिक फार्म सञ्चालनमा छ। यो आशापुरी ब्रान्डमा मिलेर गरेका हौं। चितवनमा पनि करिब ५० रोपनी हाराहारीमा छ। आशापुरी र चितवनमा रिसर्च एन्ड डेभलपमेन्ट गर्ने हिसावले भइरहेको छ। यी सबै ठाउँबाट उत्पादन गरेर माटो भनेको हाम्रो आमा हुन्। ‘माटो’ ब्रान्डमार्फत बजारीकरण गरिरहेका छौं।
‘माटो’ ब्रान्डले कति वस्तु कहाँ–कहाँ पुर्याउन सफल भएको छ ?
माटो ब्रान्डमा १ सय ५० प्रकारका उत्पादनहरूलाई बजारीकरण गरिरहेका छौं। जुन हामीले आफ्ना उत्पादनसँगै पहाडी भेगबाट संकलन गर्ने गरेका छौं। पहाडी भेगबाट त्यहाँको रैथाने उत्पादनहरू मस्याङको दाल, छिर्के सिमी, बोडी, मासी चामल, पिङ्क चामल, फापरलगायत संकलन गरेर बेच्छौं। हामी रामेछाप, कालीकोट, भोजपुरलगायतका ठाउँका किसानबाट सीधै किन्छौं। बिचौलीयाबाट किन्दैनौं। नेपाली उत्पादन बेच्ने मात्रै हैन मेरो भान्छामा सबै आफ्ना उत्पादन मात्रै प्रयोग हुन्छ। म नेपाली उत्पादन खान रुचाउँछु। यी सबै अर्गानिक र स्वस्थकर भएकाले लाभदायी छ।
यससँगै ‘माटो’ ब्रान्ड विस्तारको योजना के छ ?
माटोका सातवटा स्टोर छन्। यसै वर्ष काठमाडौंमा २० ओटा स्टोर पुर्याउने छ। भाटभटेनीलगायतका मार्टमा माटोका उत्पादन छन्। ती मार्टबाट राम्रो प्रतिक्रिया आएको छ। अहिले हामीले मनाङको स्याउ बजारीकरण गर्न टाइअप गरेका छौं। अब उक्त उत्पादन केही दिनमा आउँदैछ। अब यसको राम्रो बजारीकरण हुन्छ।
कृषिमा नै जोडिनुको कारण ?
किसानको आयआर्जन बढोस् भन्ने मेरो चाहना हो। यससँगै कृषि प्रशोधन उद्योगहरूले साना उद्योगी जन्माउनु पर्यो भनेर यसमा लागेको हुँ। यसका लागि हामीले १०–१२ ठाउँमा टाइअप गरेका छौं। माटो ब्रान्डमा महिलाले उत्पादन गर्ने अचार, मह, घिउलगायत संकलन गर्न सहकार्य गरेका छौं। यस्तै हिमाली रसुवाको पानी रद्रगंगा फ्क्ट्रीले उत्पादन गरेको छ। हामीले बजारीकरण गरिदिएका छौं। साना उद्यमीलाई टेवा पुगोस् भनेरै माटो ब्रान्डमा जोडेर बजारीकरण गरिएको हो। यी काम मैले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र साना उद्यमीलाई सहज होस् भनेर गरिएको हो। यसले देश त बन्छ। कृषि भनेको सजिलो काम होइन। आजको भोलि नाफा आउँदैन। यसलाई दिगो नाफामूलक बनाउन अरू कर्पोरेट हाउस पनि छिर्नुपर्छ
खेतीको जग्गा घडेरीमा नजाओस् भन्ने मेरो चाहना हो। यहाँ खाद्य सुरक्षा छैन। यसको सुरक्षा गरेर आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने मेरो चाहना छ। साथै मेरो सपना भनेको सबै नेपालीहरू स्वस्थ होउन भन्ने हो। उमेर ढल्केसँगै हरेकले बढी औषधि खानु परिरहेको छ। धेरै पैसा औषधि उपचारमा खर्च हुन थालेको छ। विषादीरहित खानामा ध्यान दियौं भने सबै नेपालीको स्वस्थ जीवन जिउन मद्दत पुग्छ।
कृषिका लागि त स्थानीय तहसँग पनि सहकार्य चाहिन्छ होला नि ?
अब हामीले पालिकाहरूसँग सम्झौता गरेर करार खेतीमा जाने योजना बनाएका छौं। पालिकामार्फत किसानसँग करार खेती गर्दा भरपर्दो हुने भएकाले यस्तो गर्न खोजेका हौं। यसबाट किसानलाई अर्गानिक उत्पादन गर्न बिउ, बिरुवा, उपलब्ध गर्ने, लगाउनु अघि कसरी फलाउने सिकाउने, जैविक मल र विषादी कसरी बनाउने भनेर सिकाउने र फलाउनु अघि नै मूल्य तय गरिदिन्छौं। जस्तै कसैको १ बिघा जमिन छ भने उसँग २ वर्षको करार हुन्छ। अहिले ५० हजार पनि आम्दानी छैन, भने हामीले २ लाख आम्दानी गराउँछौं। अझै यसैगरी किसानले ५ वर्षसम्म हामीसँगै जोडिए भने यसअवधिमा ५ लाख आम्दानी पुर्याउँछौं। यसरी २ वर्षमा १० हजार किसान र ५ वर्षमा ५० हजार किसानसँग जोडिने मेरो सपना छ। यसो भयो भने उत्पादित वस्तु निर्यातित गर्न पनि सजिलो हुन्छ। अहिले नै हामीले आशापुर झापाको उत्पादन अर्गानिक प्रमाणीकरण गरेर निर्यात गर्दैछौं।
करार खेती कहाँबाट सुरु हुँदैछ ?
पहिला झापाबाट सुरु गर्दै छौं। त्यसपछि रामेछापलगायतका जिल्लामा जानेछौं। हामीले थुप्रै प्रडक्ट लगाउन खोजेका छौं। वर्षभरिको क्रप्ट क्यालेन्डर बनाएर त्यसअनुसार काम गर्छौं। हामीले गर्ने यस्तो खेतीमा जैविक मल र विषादी नै प्रयोग भएको हुनुपर्छ।