दुई जलविद्युत आयोजनाको अध्ययनका लागि गोल्यान ग्रुपलाई डीएफसीको १.१ अर्ब अनुदान

काठमाडौं। अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले गोल्यान ग्रुपलाई १० मिलियन डलर (१ अर्ब १० करोड रुपैयाँ) अनुदान दिएको छ।



मंसिर दोस्रो साता डीएफसीले दिने निर्णयमा हस्ताक्षर गरेको हो। यो रकम ३०६ मेगावाटको मुगु कर्णाली र १३५ मेगावाटको नाम्लाङ खोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनमा खर्च हुने गोल्यान ग्रुपको इनर्जी डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रवीन अर्यालले बताए। उनका अनुसार दुई वर्षमा दुवै आयोजनाको विस्तृत अध्ययन सक्नेगरी अनुदान रकम प्राप्त भएको छ। 

दुवै आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। ग्रुपकै सहायक कम्पनी नेक्सस इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको हो। दुई वर्षमा सबै खालका अध्ययन सकेर निर्माण जान सक्ने अवस्थामा पुर्‍याउने अर्यालले दाबी गरे। नेपाली निजी क्षेत्रको कम्पनीलाई पहिलोपटक जलविद्युत आयोजना अध्ययनका लागि अन्तर्राष्ट्रिय संस्थाले अनुदान दिएको दाबी गरिएको छ।

सीइओ अर्यालका अनुसार नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को आयोजना आउने भएपछि अमेरिकी फाइनान्स संस्थाहरुको चहलपहल बढेको थियो। यी आयोजना पनि ग्रुपले सो-केसमा राखेको थियो। विभिन्न बैंकहरुसंग पनि छलफल भएको थियो। डीएफसी समक्ष ग्रुपले प्रस्ताव लग्यो। २०२२ को जुनदेखि विभिन्न चरणमा छलफल भयो। डिसेम्बरको सुरुमा डीएफसीले अनुदान  दिएको हो। गोल्यान ग्रुपको राम्रो कर्पोरेट कल्चर भएका कारण पाएको दाबी गरिएको छ।

कम्पनीले आयोजनाको विस्तृत अध्ययनका लागि ठेक्का निकालिसकेको छ। ‘डीएफसीको स्ट्याण्डर्ड अनुसार नै हामीले बिडहरु निकालेका थियौं। ४ वटा विदेशी कम्पनी आएका छन्। उनीहरुको मूल्यांकन भइरहेको छ,’ अर्यालले भने,’यस्तो खालको गहिराइमा गएर अध्ययन थोरै प्रोजेक्टको मात्र गरिन्छ। सुरुमै शतप्रतिशत इन्स्योर गर्न खोज्दैछौं। त्यो हाइड्रोलोजीमा होस्, त्यो हाइड्रो मोडल अध्ययनमा होस्, या ट्रान्समिसन लाइनको अध्ययन होस्।’

उनका अनुसार सुरुमा डिटेल इन्भेष्टीगेसन हुन्छ। विभिन्न कोणबाट  अध्ययन गरिन्छ। त्यसपछि विस्तृत डिजाइन र अध्ययन हुनेछ। ‘२ वर्षमा निर्माण जान तयार हुन्छ। डिजाइन राम्रो भएको रहेनछ, यो भा छैन, त्यो भा छैन भन्ने कुरा हुँदैन,’ उनले भने,’ स्मुथ रूपमा निर्माण अघि बढाउन सकिन्छ। त्यस हिसाबको अध्ययन गर्न लागेको हो।’ डीएफसीले लगानीका पनि लबिङ गरिदिन्छ भनेर प्रस्ताव गर्न लागेको अर्यालको भनाइ छ। यो दुई वर्षमा लगानी जुटाउनेदेखि सबै खालका पूर्व तयारीका सक्ने योजना छ।

दुवै आयोजना निर्माण थालेको पाँच वर्षमा सक्ने योजना छ। २०२४ बाट निर्माण सुरु गरेर २०२९ देखि विद्युत उत्पादनको लक्ष्य छ। दुवै आयोजना एकै साथ निर्माण थालेर एउटै समयमा सक्ने योजना बनाइएको छ। दुवै आयोजना मुगु कर्णाली बेसिनमा बन्नेछन्।

नाम्लाङ खोला जलविद्युत मुगुमा
नाम्लाङ खोला जलविद्युत आयोजना कर्णालीको मुगुमा प्रस्ताव गरिएको छ। यो पिकिङ रन अफ दि रिभर अर्थात अर्ध-जलाशय प्रकृतिको आयोजना हो। आयोजनाको ग्रस हेड २९०.५ मिटर छ। नेट हेड २७९.६७ मिटर छ।

यसको १३५ मेगावाट जडित क्षमता रहने छ। जसबाट वार्षिक बिक्रीयोग्य ७७१.१९ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। सुक्खायामको पिक इनर्जी १३८.५७ गिगावाट आवर हुनेछ। वार्षिक सुक्खायामको विद्युत २५६. ३७ गिगावाट आवर (३३.२४ प्रतिशत) र बर्खायामको ऊर्जा ५१४.८३ गिगावाट आवर (६६.७६ प्रतिशत) हुनेछ।

अपर मुगु कर्णाली जलविद्युत आयोजना 
अप्पर मुगु कर्णाली जलविद्युत आयोजना मुगुको मुगुम कार्मारोङ गाउँपालिका-३ मा प्रस्ताव गरिएको छ।  यो पनि अर्ध-जलाशय प्रकृतिको जलविद्युत आयोजना हो।

यो आयोजनाले ४ घण्टासम्म दैनिक पिकिङ दिन सक्छ। ग्रस हेड ४११ मिटर र नेट हेड ३८८ मिटर छ। सुक्खायाममा पिक ऊर्जा २०९.३९ गिगावाट आवर (१२.८५ प्रतिशत), सुक्खा अफ पिक ऊर्जा २७९.३९ गिगावाट आवर (१७.१५ प्रतिशत) र बर्खायाममा ११४०.४७ गिगावाट आवर (७० प्रतिशत) उत्पादन हुनेछ। 

मुगु कर्णाली बेसिनको  माथिल्लो भागमा विद्युत उत्पादन कम्पनी लिमिटेडले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना अध्ययन गरिरहेको छ। जुन जलाशययुक्त आयोजना हो। त्यसपछि बुटवल पावर कम्पनी लिमिटेडको करिब १०० मेगावाट आयोजना निर्माण गर्न लागेको छ। विद्युत विकास विभागले अध्ययन गर्न लागेको एउटा आयोजना बुटवल पावरको आयोजनाभन्दा तल्लो भागमा पर्छ। त्यसपछि गोल्यान गोल्यान ग्रुपको अप्पर मुगु कर्णाली र नाम्लाङ खोला छन्। 

महँगो पर्ने भएका कारण नेपालमा निजी क्षेत्र अर्ध-जलाशययुक्त आयोजना बनाउन अघि सर्दैन। ‘धेरै बस्तीहरु छैन, ५०/६० घरबाटै पर्छ। वातावरणीय क्षति कम छ। सम्बोधन गर्न सकिने खालका छन्,’ अर्यालले भने,’बुढीगण्डकी जस्तो हजारौंलाई छुट्टै ठाउँमा पुनर्स्थापना गर्नुपर्ने अवस्था छैन।’

९०० मेगावाटको १४ आयोजना निर्माण गर्दै गोल्यान ग्रुप
यो ग्रुपले १४ वटा विभिन्न क्षमताका जलविद्युत र सोलारका आयोजना अघि बढाउदैछ। सबैभन्दा ठुलो क्षमताको ३०६ मेगावाटको अपर मुगु कर्णाली छ भने सानो सोलारका १०/१०मेगावाटको ६ वटा आयोजना छन्।

अपर बलेफी-ए निर्माण भएर राष्ट्रिय जोडिइसकेको छ। यो ३६ मेगावाटको आयोजना सिन्धुपाल्चोकको बलेफीमा निर्माण भएको छ। ९७ मेगावाटको इसुवाखोला निर्माणाधीन छ। यो आयोजनाको केएनबीआर इशवा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक छ। आयोजना आगामी डेढ वर्षमा प्रणालीमा जोड्ने योजना छ।

कम्पनीले ५४ मेगावाटको तल्लो अप्सुवा हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। यो डिटेल डिजाइनको फेजमा छ। ४६ मेगावाटको अप्पर बलेफी हाइड्रोपावर विकास गर्न लागेको छ। जसको डिटेल डिजाइनको काम भइरहेको छ।  कन्स्ट्रक्सन लाइसेन्स पाएर पीपीए पर्खाइमा छ।

५० मेगावाटको तरापखोला जलविद्युत आयोजनाको फिजिविलिटी अध्ययनको काम चलिरहेको छ भने ५७ मेगावाटको मुगुखोला जलविद्युत आयोजना विकास गर्न लागेको छ। वेस्टर इनर्जी प्रालि प्रवर्द्धक छ। सोलारतर्फ १०/१० मेगावाटका ६ वटा आयोजना छन्।

 सीइओ अर्यालका अनुसार २०३० सम्ममा निजी क्षेत्रको सबैभन्दा बढी जेनेरेसन पोर्टफोलियो भएको कम्पनी बनाउने लक्ष्य छ। ‘७०/८० प्रतिशत लक्ष्य हासिल गर्‍यौं भने पनि ठूलो सफलता हुनेछ,’ उनले भने। ९०० मेगावाटका आयोजना विकासका लागि १.२ बिलियन अमेरिकी डलर लाग्ने प्रारम्भिक हुनेछ। २५ प्रतिशत इक्विटी (३०० मिलियन अमेरिकी डलर) र ९०० मिलियन अमेरिकी डलर ऋण जुटाउनुपर्छ।

‘सोलारसहित १४/१५ करोड रुपैयाँ औसतमा कष्ट छ। जुन किसिमले मुल्य वृद्धि भइरहेको छ। त्यो हिसाबले लागत केही बढ्न सक्छ,’ उनले भने।

Source: Bizmandu