कर्मचारीको खुसी नै मेरो सफलता
मधुजंग पाण्डे 1 day ago 0 07/07/2019
पवनकुमार गोल्यान
अध्यक्ष, गोल्यान समूह
मैले सानै उमेरदेखि बुबा र दाजुले सुरु गरेको सानो व्यवसायबाट मुलुकको औद्योगिक क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो जन्म ६१ वर्षअघि २०१५ सालमा मोरङ जिल्लाको रंगेलीमा भएको हो । बुबा सोहनलाल गोल्यान र आमा विणादेवी गोल्यानको कान्छा छोरा हुँ म । रंगेली मोरङको पुरानो सदरमुकाम हो । मैले विराटनगरको सत्यनारायण हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास गरेको हुँ ।
१४ वर्ष हुँदादेखि कारोबारको जिम्मेवारी
त्यतिबेला १६ वर्षको उमेर नपुगी प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी हुन नपाइने नियम भएकाले मैले कागजमा दुई वर्ष उमेर बढाएर १४ वर्षको उमेरमा एसएलसी पास गरें । एसएलसी दिएपछि खाली समयमा बुवाले नै मलाई पुख्र्यौली व्यापार सिकाउनुभएको हो । बुबाले पहिलो दिन दिनुभएको दुईवटा बहिखाता ध्ये एउटा खाली थियो । त्यसमा अर्कोको पुरा कारोबार ध्यान दिएर सार्नु भन्नुभएकाले दास्रो दिनबाट नयाँ खातामा नयाँ हिसाबकिताब राख्न सिकें । त्यसरी बुबालाई कारोबारमा सघाउँदै, सिक्दै मैले १९ वर्ष पुग्नै लाग्दा मोरङ आदर्श क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातक गरें । त्यतिबेला मेरा बुबा र दाजुले गरेको व्यवसायमा सहयोग गर्नकै लागि मैले उच्च शिक्षाको थप अध्ययन पूरा गर्न पाइनँ । त्यसैले मेरो पढाइ स्नातक तह उत्तीर्ण मात्र भएको छ ।
हामी तीन दाजुभाइमध्ये मैले त्यतिबेला एकजना दाजुले भारतको दिल्लीमा सञ्चालन गरेको उद्योगमा पुगेर पनि दुईवर्ष काम गरें ।त्यतिबेला दाजुको दिल्लीमा जर्तीको धागो उत्पादन गर्ने उद्योग थियो । त्यहाँ दुई वर्ष दाइको काममा सहयोग गरी म घर फर्किएँ । त्यसपछि मलाई बुवाले सुरु गरेको शाह कपडा उद्योगको सम्पूर्ण कारोबारको जिम्मेवारी आइलाग्यो । मेरो बुबाले २०३८ सालदेखि सुरु गरेको कपडा उद्योग त्यसबेला विराटनगरमा राम्रो उद्योग थियो ।
बुबाकै पालामा बन्द भएको कपडा उद्योगलाई मैले पुन ःसञ्चालनमा ल्याएँ
त्यतिबेला बुबाले भोग्नु परेको अनेक समस्याका कारण र बुबाको निधनपछि त्यो उद्योग बन्द भयो । केही समय बन्द अवस्थामा रहेको त्यो कपडा उद्योगलाई मैले पुन ःसञ्चालनमा ल्याएँ । त्यतिबेला मैले करिब २ करोड रुपैयाँ लगानी गरेको थिएँ । सो समय विराटनगरमा हाम्रो सहित जम्मा तीनवटा मात्र कपडा उद्योग थियो । त्यसपछि विस्तारै अन्य उद्योगहरू सञ्चालनमा आएका हुन् । त्यसपछि छाता बनाउने उद्योग, चप्पल उद्योग र अडियो क्यासेट बनाउने उद्योग सञ्चालन गरियो । हाम्रो अरुणोदय क्यासेट उद्योगमा गीत रेकडिङदेखि सबै काम हुन्थ्यो ।
त्यसपछि २०४५ सालतिर हामीले पश्मिना उद्योगमा हात हाल्यौं । हाम्रो हिमाली पश्मिना उद्योगबाट उत्पादित पश्मिनाका सलहरू नेपालकै सबैभन्दा धेरै निर्यात गर्ने उद्योगको रूपमा स्थापित भएको थियो । त्यतिबेला करिब २ अर्बको पश्मिना विभिन्न मुलुकमा निर्यात गरियो । त्यो पश्मिना उद्योग भने म आफैंले सुरु गरेको उद्योग थियो । आफ्नो बुबाकै पालामा बाल्यकालदेखि नै उद्यम÷कारोबार सिकेकाले मलाई अहिलेसम्म आफ्नो पारिवारिक गोल्यान घराना समूहको नेतृत्व सम्हाल्न कुनै अप्ठ्यारो परेन ।
मेरो व्यावसायिक सफलताको यात्रा बन्द उद्योग पुनः सञ्चालन
बुवाले सम्हाल्न नभ्याएर बन्द गरेको कपडा उद्योग पुनः सञ्चालन गरेसँगै मेरो व्यावसायिक सफलताको यात्रा सुरु भएको हो । सोही सफलताका कारण अहिलेसम्म मलाई नेपालबाहिर उद्योग खोल्ने सोच कहिल्यै आएन । मैले आफ्नो व्यवसाय सुरु गर्नुअघि मेरा बुवाले धेरै मुलुक घुमेर हेर्नुभयो, हङकङ र यूएईमा समेत लगानी गर्ने योजना पनि बनाउनुभएको थियो । तर, उहाँ सफल नभएकाले मैले अहिलेसम्म जति पैसा कमाएपनि आफ्नो जन्मभूमिबाहेक अन्य दायाँबायाँ केही नहेरी लगातार स्वदेशमै लगानी गरिरहें ।
त्यसपछि मेलो दिमागमा धागो उद्योग खोल्ने योजना बन्यो र २०४८ सालमा ‘रिलायन्स धागो उद्योग’ सञ्चालन गरी २०५१ सालबाट स्वदेशी धागो उत्पादन सुरु गरियो । त्यतिबेला रिलायन्स मुलुककै सबैभन्दा बढी पुँजी भएको उद्योग थियो । त्यो करिब १ अर्ब १० करोडको लगानीमा सुरु भएको थियो । अहिले यस उद्योगमा थप लगानी भएर करिब ८ अर्ब रुपैयाँ पुगिसकेको छ । यो उद्योग धागो मात्र निर्यात गर्ने उद्योग हो । उद्योग सञ्चालनकै अवस्थामा दुई हजार जना कामदार थिए । वार्षिक करिब डेढ अर्ब रुपैयाँको धागो निर्यात हुन्थ्यो । सुरुमा बंगलादेशमा निर्यात हुने गरेकोमा विस्तारै खाडी मुलुक र बेलायत हुँदै अहिले धेरै मुलुकमा यस उद्योगबाट उत्पादित धागो निर्यात भइरहेको छ ।
सुरुमा मैले रिलायन्स धागो उद्योग एमएस ग्रुपका शशीकान्त अग्रवालसँगको ५०÷५० प्रतिशत संयुक्त लगानीमा सञ्चालन गरेको थिएँ । हाम्रो यस उद्योग सञ्चालन भएलगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले स्वदेशी धागो उद्योगलाई मद्दत ग¥यो । त्यसकै परिणामस्वरूप नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । त्यसपछि विस्तारै युरोपियन मुलुक टर्कीलगायतका मुलुकमा पनि निर्यात हुन थाल्यो । जुन अहिले पनि जारी छ । गोल्यान समूहको यस धागो उद्योगले नेपालको कुल वस्तु तथा सेवा निर्यातमा करिब ८ प्रतिशत योगदान गरिरहेको मेरो दाबी छ ।
रिलायन्स धागो उद्योगसँगै शिवम् प्लास्टिक इन्डस्ट्रिजबाट उत्पादित शिवम् ब्रान्डका प्लास्टिकका बोरालगायत विभिन्न बस्तु उत्पादन गर्ने उद्योग स्थापना गरियो । हाल यस उद्योगबाट उत्पादित ८० प्रतिशतभन्दा बढी पोलि(प्रोप्लिन ब्याग (सिमेन्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरू मुलुकभरका विभिन्न सहर र भारतमा निर्यात भइरहेको छ । यसैगरी, निर्यात गर्ने उद्देश्यले स्वीटर बनाउने उद्योग सुरु गरियो । यसरी सञ्चालन भएका मध्ये स्वीटर उद्योग भने विभिन्न कारणले सोचे जस्तो हुन सकेन । अहिले यो उद्योग भतिजाले सम्हालिरहेको छ । यस उद्योगले आन्तरिक बजार भने राम्रै गरिरहेको छ ।
मेरो भित्री मनले नै स्वदेशमा बसेर औद्योगिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने लागेकाले म यस क्षेत्रमा सफल भएको हुँ । भित्रको मनबाट केही गर्ने अठोटकासाथ सुरु गरिएको काममा अवस्य सफलता मिल्ने छ । हरेक समय आफूले थालेको काममा सधंै दत्तचित्त भएर लागिरहनुपर्छ । थालेको काममा राम्रो ध्यान दिनुपर्छ । मेहेनत गर्न छाड्नु हुँदैन । थालेको कामलाई निकै सुस्म रूपमा ध्यान दिएर अघि बढ्नुपर्छ । सफल उद्यमी बन्नका लागि कुनै पनि काम सुरु गर्नुभन्दा अघि सबै कामको बारेमा राम्रो ज्ञान हुनुपर्छ । नत्र असफल पनि हुन सक्छ । त्यसैले सफल उद्यमी बन्न यस्तो सूत्र अपनाउनुपर्छ । सञ्चालक मालिकजस्तो बन्नु हुँदैन । कामदारलाई सधंै आफ्नो हिस्सेदार एवं सहकर्मी सम्झनुपर्छ । कामदार खुसी भएपछि स्वतः राम्रो प्रतिफल आइहाल्छ । कर्मचारी र कामदारलाई पनि आफूले काम गरेको उद्योग मेरो हो भन्ने अपनत्वको वातावरण बनाइदिनुपर्छ । कामदारलाई उत्साहकासाथ काम गर्ने माहोल बनाइदिनुपर्छ, २५ वर्ष भयो । अहिलेसम्म मेरो उद्योगमा कामदारका तर्फबाट कहिले पनि अवरोध भएको छैन । अहिले मेरो यस गोल्यान समूहमा कामदार र कर्मचारी गरी कुल १० हजार जनशक्ति कार्यरत छन् । कामदार र कर्मचारीको अनुहारमा देखिएको खुसी नै मेरो सफलता हो भन्ने मलाई महसुस भएको छ ।
बैंकिङ क्षेत्रमा सफल नेतृत्व
रिलायन्स धागो र शिवम् प्लास्टिक उद्योगसँगै मैले बैंक, फाइनान्स र अन्य वित्तीय क्षेत्रमा लगानी गरेको हुँ । मैले बैंकिङ क्षेत्रमा सबैभन्दा पहिले नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंकमा हात हालें । त्यसपछि (नेपाल मर्चेन्ड बैंकिङ कम्पनी लिमिटेड) हाल एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरियो । अहिले म हामीले सुरु गरेको एमएमबी बैंकको अध्यक्ष छु । एमएमबी बैंकले लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ पाएको छ । यस बैंकले लगातार (सन् २०१७ र २०१८ मा ) अवार्ड पाएको हो । सञ्चालक समितिले दबाब एवं तनाब दिएकै कारण बैंकहरूका कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएको धेरै दृष्टान्त छन् । तर, हाम्रोमा अहिलेसम्म त्यस्तो भएको छैन । मैले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्दछु । सञ्चालक समितिले भिजन दिने र व्यवस्थापनले काम गर्ने हो । हाम्रो बैंकमा त्यही भएको छ । यस्तै एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी) र एसियन लाइफ इन्स्यारेन्स कम्पनीमा पनि यस गोल्यान समूहको लगानी छ ।
सञ्चालक मलिक जस्तो बन्नुहु“दैन ।
कामदारलाई सधंै आफ्नो हिस्सेदार एवं सहकर्मी सम्झनुपर्छ ।
कामदार खुसी भएपछि स्वतः राम्रो प्रतिफल आइहाल्छ ।
कर्मचारी र कामदारलाई पनि आफूले काम गरेको उद्योग मेरो हो भन्ने अपनत्वको वातावरण बनाइदिनुपर्छ ।
कामदारले उत्साहसाथ काम गर्ने माहोल बनाइदिनुपर्छ ।
२५ वर्ष भयो । अहिलेसम्म मेरो उद्योगमा कामदारका तर्फबाट कहिल्यै पनि अवरोध भएको छैन ।
अहिले यस गोल्यान समूहमा कामदार र कर्मचारी गरी कुल १० हजार जनशक्ति कार्यरत छन् ।
जलविद्युत्मा नयाँ प्रवेश
यसअघि निर्यातजन्य बस्तु उत्पादन र बैंकिङ तथा अन्य वित्तीय क्षेत्रमा केन्द्रित हाम्रो यस गोल्यान समूहले अहिले ऊर्जा, रियलस्टेट र होटल सेवा क्षेत्रमा पनि थप लगानीको दायरा बढाएको छ । अहिले हामीले सिन्धुपाल्चोकको बलेफीमा माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट) र इवाखोला ९७ मेगावाटमा गरी करिब १ अर्बभन्दा बढी लगानी हुनेछ । माथिल्लो बलेफी आगामी पुस माघ महिनादेखि निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसैगरी, भोटेकोसी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा पनि हामीले लगानी गरेका छौं । विद्युत्का लागि मैले छुट्टै समूह बनाएको छु । आफ्ना साथीभाइ र छोराहरूको छुट्टै समूह बनाएर एक हजार मेगावाटको जलविद्युत् परियोजना चलाउने जिम्मा लगाएको छु । ठूला आयोजनामा विदेशी साझेदारसमेत भिœयाउने गरी काम गर्न भनेको छु ।
अपार्टमेन्टदेखि होटलसम्म थप लगानी
ऊर्जासँगै मैले अपार्टमेन्ट र होटल क्षेत्रतर्फ थप लगानी विस्तार गरिरहेको छु । अपार्टमेन्टतर्फ मैले वेस्टार प्रपर्टिजमार्फत् ललितपुरको बालकुमारीमा अपार्टमेन्ट तथा हाउजिङको व्यापार पनि गरियो । २०६५ सालमा मैले वेस्टार रेसिडेन्सी सुरु गरेको हो । त्यतिबेला मैले बालकुमारीमा २१५ वटा अपार्टमेन्ट बनाएको थिएँ । अहिले मेरो काठमाडांैको सोल्टिमोड ताहाचलमा रेसिडेन्सेस एट हायात प्लेस होटलमा लगानी भएको छ । हाल यस होटल निर्माण कार्य जारी छ । कुल १५८ वटा बेडरुम भएको यस होटलमा करिब ३ अर्बको लगानी हुनेछ । मेरो यो होटल अमेरिकाको चेन होटल हो ।
गोल्यान समूहको अध्यक्षसँगै अहिले म गोल्यान समूहबाट प्रवद्धित ‘क’ वर्गको वाणिज्य बैंक एनएमबी र नेपाल धागो उत्पादक संघको अध्यक्ष पनि हुँ ।
कृषिमा अर्बाैंको लगानी
हाम्रो यस गोल्यान समूहले अहिले कृषि क्षेत्रमा पनि थप लगानी गरिरहेको छ । हाल कृषिमा पनि १ अर्ब जतिको लगानी छ । यसअघि बैंकिङ क्षेत्र, धागो एवं टेक्सटाइल उद्योग र प्लास्टिकजन्य वस्तु उत्पादनमूलक उद्योगमा राम्रो सफलता हासिल गरिसकेको गोल्यान समूहले अहिले पहिलोपटक व्यावसायिक अर्गानिक तरकारी र फलफूल खेतीमा अर्बौं रुपैयाँ लगानी गरेको हो । कृषि प्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ कि भनेर मैले पछिल्लो समय कृषिमा हात हालेको हुँ ।
झापाका विभिन्न पाँचवटा नगरपालिकामा कुल २०९ बिघा जग्गा खरिद गरेर अर्गानिक तरकारी र फलफूल खेती सुरु गरेको छु । मैले झापाको मदरगाछ, चकचके, घेराबारी, रंगपुर, झापा गाउँपालिकालगायत विभिन्न स्थानमा जग्गा खरिद गरी अर्गानिक तरकारी र फलफूल खेती सुरु गरेको हुँ । यहाँ जग्गा खरिद गर्ने क्रममा मात्र ६० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । हामीले स्थानीय किसानलाई हामीले सहुलियत बैंकिङ कर्जा उपलब्ध गराएर अर्गानिक कृषिजन्य उत्पादनमा संलग्न गराइरहेका छौं । यसैगरी, स्थानीय कृषकहरूलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गर्नका लागि विभिन्न बैंकबाट सहुलियत दरमा कृषिकर्जा उपलब्ध गराएर अर्गानिक कृषिमा जोड दिइरहेका छौं ।
जसका लागि अहिले हामीले माछा, बंगुर, कुखुरा र गाई पालनका लागि सहयोग गरिहेका छौं । काम गर्न चाहने तर, स्रोत नभएका किसानलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी गरिदिने गरेका छौं । जसका लागि अहिले हामीले गैर नाफामुखी गोल्यान एग्रो कम्पनी खोलेका छौं । यसैगरी हामीले समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था स्थापना गरेका छौं । १४ वर्षकै उमेरमा बितेका छोराको नाममा खोलेको ‘जयन्त गोल्यान फाउन्डेसन’ले स्थानीय महिला र कृषकलाई आत्मनिर्भर बनाउने सीप विकास तालिम तथा सहयोग गर्ने काम गरिरहेको छ ।
स्थानीय किसानलाई अर्गानिक खेतीका लागि आवश्यक प्राविधिक जनशक्ति एवं प्रांगारिक मल बनाउने तरिकासमेतमा यस समूहले सहकार्य गरिरहेको छ । यस सफलतापछि आगामी १० वर्षभित्र मुलुकभर करिब १ हजार बिघा क्षेत्रफलमा अर्गानिक खेती गर्ने लक्ष्य हामीले लिएका छौं । अहिले हामी किसानलाई बजार खोजिदिन सक्छौं । प्रोसेसिङ जोन बनाएर उनीहरूको उत्पादन खरिद गरिदिने र उचित मूल्य दिन सक्छौं । सबै कुरामा सरकार नै अघि बढ्नुपर्छ भन्ने पनि होइन, हामी आफैंले जे सक्छौं, त्यहीबाट थालौं भन्ने सोचका साथ हामी अघि बढिरहेका छौं ।
कर्पोरेट हाउसले कृषिमा लगानी गर्नुपर्छ
कर्पोरेट हाउसले कृषिमा लगानी गरेनन् भने कहिल्यै पनि मुलुकमा कृषि क्षेत्रको व्यावसायीकरण हुन सक्दैन । त्यसैले किसानको जीवनस्तर उठाउन हामीले कृषिमा लगानी गरेका हौं । अहिले हामीले झापा राजगढको जमिनमा जडीबुटी खेती पनि सुरु गरेका छौं । जसका लागि अहिले त्यहाँ लोठसल्ला, अदुवा र बेसारबाट तेल निकाल्ने र सम्भावित मेडिकल हर्बबारे विज्ञको टोलीले अनुसन्धान गरिसकेका छन् । रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर निर्माणका लागि यहाँको २५ बिघा जमिन छुट्याइसकेको अवस्था छ । झापाबाट सुरु भएको गोल्यान समूहको यो अर्गानिक खेती बिस्तारै पहाडी भेगमा पनि विस्तार हुनेछ । सुरुमा १ र २ प्रदेशबाट सुरु भएको कृषि लगानी विस्तारै ४, ५,६ र ३ नम्बर प्रदेशमा फैलिन लागेको छ । हाम्रो यो समूहले किसानका बालीलाई असर नपर्ने र किसानले उत्पादन नगर्ने किसिमका बाली मात्र लगाउने नीति लिएको छ ।