HYATT PLACE HOTEL SET TO OPEN SOON

Source: Capital Nepal

अन्नपूर्ण होटल बन्दले दिएको नकारात्मक सन्देशलाई चिर्यो हायात प्यालेसले, वैशाखदेखि सञ्चालनमा

काठमाडौं । कोरोना भाइरस महामारीले राजधानीमा रहेको पुरानो अन्नपूर्ण होटल बन्द भएपछि फैलिएको नकारात्मक सन्देशलाई पाँचतारे होटल हायात प्यालेसले चिरेको छ । अहिलेको परिस्थितिमा होटलहरू चल्न सक्दैनन्, भन्ने सन्देशलाई चिर्दै पाँचतारे होटल हायात प्यालेस वैशाखबाट सञ्चालनमा ल्याउने तयारी भएको छ । 

कोरोना भाइरसकै बीचमा काठमाडौंको सोल्टीमोडमा निर्माण भइरहेको पाँचतारे होटल हायात प्यालेस पूर्णरूपमा तयार भएको छ ।  कोभिडको प्रभावले निर्माणाधीन अधिकांश होटलहरूको काम सुस्त भइरहेको बेला हायात प्यालेस भने सञ्चालनको तयारीमा जुटेको हो । 

होटलका महाप्रबन्धक वरुण तलवारले आगामी वैशाखबाट सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भइरहेको बताए । १५३ वटा कोठा रहेको सो होटल अन्तर्राष्ट्रिय स्तरको होटल हो । अहिले होटलको निर्माणको काम सबै सकिएको र भित्री तयारीहरू धमाधम भइरहेकाले वैशाखदेखि सञ्चालनमा ल्याउने महाप्रवन्धक तलवारले जानकारी दिए ।

कोभिडको संक्रमण विस्तारै कम हुँदै गएको र यसको विरुद्धको खोपसमेत आइसकेकाले अबको अवस्था सामान्यतर्फ उन्मुख हुने सोचका साथ होटललाई सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

कोभिडका कारण अहिले सञ्चालनमा रहेका पाँचतारे होटलहरू पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन । अन्नपूर्ण होटल २०२२ सम्मका लागि बन्द गरिएको छ ।

यस्तो अवस्थामा पनि हायात प्यालेसले भने आफू प्रतिस्पर्धी बनेर बजारमा आउन लागेको हो ।  अहिले काठमाडौंसहित देशभर आधादर्जनभन्दा बढी पाँचतारे होटलहरू निर्माण भइरहेका छन् । तर, कोभिडले गर्दा काममा ढिलाइ हुन गएको छ ।

हायात प्यालेस होटल नेपालको व्यावसायिक घराना गोल्यान ग्रुपले निर्माण गरेको हो । होटलको व्यवस्थापनसमेत गोल्यान ग्रुपले नै गर्ने भएको छ । होटल साढे १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

१४ तले भवनमा होटलका लागि १ सय ५३ कोठा हुने छन् । ‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको जनाएको छ । पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट हुने उक्त होटलमा सबै स्तरीय सुविधा हुनेछन् ।

तत्कालका लागि क्यासिनो भने सञ्चालन हुने छैन । त्यस बाहेक, स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुम हुनेछन् । हायात ब्रान्डको नेपालमा दोस्रो होटल हुनेछ ।

यसअघि नै हायात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ । हायात रिजेन्सी र हायात प्यालेसका लगानीकर्ता फरक हुन् । यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड भने एउटै हो ।