NEPAL HAS HIGH GROWTH OPPORTUNITIES

व्यवसाय गर्न नेपाल संसारकै उत्तम देश हो

उमेरले ३० टेकेका अक्षय गोल्यान, प्रतिष्ठित व्यापारिक घराना गोल्यान ग्रुपअन्तर्गतका तीन भिन्नै व्यवसायको नेतृत्व गरिरहेका छन् । अक्षयले रिलायन्स स्पिनिङ मिल्सको नेतृत्व लिएका छन् भने वेस्टार प्रपर्टिजको बिक्री र व्यवस्थापन सम्हालेका छन् । त्यसबाहेक हालै गोल्यान ग्रुपले हात हालेको सोलार विद्युत उत्पादन व्यवसायलाई पनि उनले नजिकबाट नियालिरहेका छन् ।

छोटो समयमै व्यवसाय सञ्चालनमा परिपक्व देखिएका गोल्यान ग्रुपका कार्यकारी निर्देशक अक्षय विदेशमा हासिल गरेको शैक्षिक ज्ञान ‘फिल्ड’ मा गएपछि विरलै काम लाग्ने बताउँछन् । राजधानीको रविभवनस्थित नेपालकै उत्कृष्ट मानिने लिंकन स्कुलबाट विद्यालय शिक्षा सुरु गरेका उनले व्यापार विषय लिएर अमेरिकामा दुई वर्ष र बाँकी दुबईमा अन्डरग्र्याजुएट गरे । त्यसपछि स्पेनको एसाडे युनिभर्सिटीबाट स्नातकोत्तर गरे पनि कम्पनी सञ्चालनमा पारंगत बन्न आफ्नै बुबाले खोलेको रिलायन्स स्पिनिङ मिल्सको नेतृत्व सम्हाले ।

सन् २०१०–११ मा उनले रियलस्टेट क्षेत्रमा पनि काम गरे । आईटी कम्पनी स्थापना गरी आफ्नै ‘स्टार्ट अप’ गरे तर, २०१४ मा रिलायन्स कम्पनी प्रवेश गरेर छोडे पनि बिजनेसमा परिपक्व बन्न उनी तीन वर्षपछि रिलायन्स नै फर्किए । व्यवसायमा लागे पनि उनी आध्यात्मिक छन् । पछिल्लो समय उनी मंगोलियाको कुनाकाप्चा पुगे, गाउँले जीवन बिताए । बाहिरी दुनियाँबाट टाढा रहे । “जीन्दगीले  कहाँ पुर्‍याउँछ हेरौं, १० वर्ष पछि परिचय फेरिने पो हो कि !,” उनी भन्छन् ।

व्यवसायमा दोस्रो पुस्ताको प्रवेशपछि छाउने उत्साह उत्पन्न हुने जाँगर अनि व्यवसायमा अगाडि बढ्न चाहिने दोस्रो पुस्ताको योजना र रणनीतिदेखि सरकारले निजी क्षेत्रलाई गर्ने व्यवहार तथा समग्र व्यावसायिक प्रतिस्पर्धाबारे उनै अक्षयसँग बाह्रखरीका सुशील भट्टराई  र रोविन पौडेलले गरेको कुराकानी :

गोल्यान ग्रुपमा कुन उमेरमा प्रवेश गर्नुभएको हो ? व्यवसाय सम्हाल्दा कस्तो अनुभव भइरहेको छ ?

गोल्यान परिवारमै जन्मेकाले यो ग्रुपमा म जन्मेदेखि नै छु तर, व्यावसायिक प्रवेश सन् २०१७ अप्रिलमा गरेको हुँ । त्यसअघि मैले आफ्नो छुट्टै व्यवसाय गर्दै आएको थिएँ । ज्ञान र अनुभवको कमीले त्यसबाट सफलता हात पार्न भने सकिनँ । सानो उमेरमै केही गरौं भन्ने इच्छा सफल हुन सकेन । गोल्यान ग्रुपमा व्यावसायिक रूपमा प्रवेश गरेको दुई वर्ष बित्नै लाग्दा मैले धेरै कुरा सिकेको छु । विशेष गरी ४० वर्ष यही क्षेत्रमा बिताइसक्नुभएको मेरो बाबाबाट धेरै सिक्न पाएँ । काम कसरी गर्ने, मान्छेसँग सम्बन्ध कसरी बनाउने, कसरी डिल गर्ने, इम्लोइलाई कसरी प्रेरणा दिने, बिजनेसमा कसरी अघि बढ्ने र यसलाई कसरी अगाडि बढाउने जस्ता विषय सिक्ने माध्यम बाबा नै हुनुभयो । दुई वर्षे अनुभवमा पनि २०१८ विशेष वर्ष रह्यो । हामीले धागो कारखाना विस्तारसँगै सोलार, कृषि, हाइड्रोपावर लगायत अन्य २–३ वटा नयाँ क्षेत्रमा हात हाल्यौं ।

बुवाले खडा गरेको बिजनेस अम्पायर आफैं ह्यान्डल गर्ने लक्ष्य लिनुभएको छ ?

अहिले त छैन तर, के गर्नुपर्छ, कसरी अगाडि बढाउनुपर्छ, बाबाले खडा गर्नुभएको अम्पायर भनौं वा फाउन्डेसन थप अगाडि लानुपर्ने चुनौती छ । व्यवसायको ग्रोथ देशको ग्रोथसँग जोडिएको छ । त्यसैले नयाँ वा पुरानो जस्तो बिजनेस होस्, हाम्रो भिजन भनेको अर्गानिक रूपमा ग्रो हुने हो । अर्गानिक ग्रो गर्दा देश, जनता, व्यवसायी सबैलाई फाइदा पुग्छ ।

गोल्यान ग्रुपले धेरै क्षेत्रमा लगानी गरेको छ, अहिले तपाईंले गोल्यान ग्रुपको कुन–कुन सेक्टरको नेतृत्व गरिरहनुभएको छ ?

मैले गोल्यान ग्रुपले लगानी गरेको रिलायन्स स्पिनिङ मिल्स (धागो) को नेतृत्व गर्दै आएको छु । वेस्टार प्रपर्टिज (रियल स्टेट) को सेल्स र म्यानेजमेन्ट पनि हेर्छु भनेँ र भर्खरै सोलार र कृषिमा समूहले लगानी गरेको छ । कृषिमा गरिएको लगानीमा म एड्भाइजर छु ।

गोल्यानजस्तो ठूलो ग्रुपमा आफ्नै ‘हाइरार्की’ हुन्छ, सबैको दायित्व पनि त्यसैगरी तय गरिएको हुन्छ । यस्तो बेलामा आफूलाई कुन अवस्थामा पाउनुहुन्छ ?

हाम्रो परिवार सानो छ । परिवारमा मेरो ठूलो बाबा, बाबा, ठूलोबाबाका दुई भाइ छोरा, एकजना भाउजु र ममात्र छौं । सबैजना व्यवसायमा छौं । हाम्रो परिवार ट्रान्सप्यारेन्ट र क्लोजनेट परिवार हो । जसमा रेस्पोन्सिबिलिटीका आधारमा बुबा समूहको अध्यक्ष हुनुहुन्छ । त्यसपछि, ठूलो बाबा उपाध्यक्ष हुनुहुन्छ । उहाँ मुख्यतः संस्थागत सामाजिक उत्तरदायित्वमा ध्यान दिनुहुन्छ । सामाजिक कार्यमा काम गर्ने उहाँको आकांक्षाअनुसार उहाँ सोही फिल्डमा काम गर्नुहुन्छ । ठूला दुई दाइ काश्मिरी धागोको स्वेटर बनाउने स्ट्राइकोटमा लाग्नु भएको छ । उहाँहरू ऊनजन्य उत्पादन युरोप निर्यात गर्नुहुन्छ । भाउजु गोल्यान ग्रुपको होटल बिजनेस नेतृत्व गर्नुहुन्छ । सोल्टिमोडमा हाम्रो ह्यात प्यालेस भन्ने होटल निर्माण भइरहेको छ । मेरो अर्को दाइ रियल स्टेट बिजनेसमा संलग्न हुनुहुन्छ तर, उहाँ बाहिर बस्नुहुन्छ । म पहिले भने झैं मुख्यतः तीनवटा व्यवसायको नेतृत्व गर्छु ।

एकेडेमिकल्ली धेरै कुरा सिकिन्छ तर, एक प्रतिष्ठित घराना भएका कारण परिवार र आफूभन्दा ठूलाबाट सिक्ने मौका पनि धेरै मिल्छ । के–के सिक्नुभयो ?

एकेडेमिकमा थेउरिटिकल नलेज पाइन्छ । जसमा बिजेनमा हुने जनरल प्राक्टिस, लिडरसिपका क्वालिटी, कल्चर, केस स्टडी आदि सिकिन्छ । मैले देशबाहिर अध्ययन गरेको हुँ तर, त्यो पर्याप्त हुँदैन । फिल्डमा आएपछि त्यहाँ सिकेको ज्ञान व्यवहारमा उतार्न साह्रै मुस्किल हुन्छ । तै पनि मलाई सहज भयो, सबै कुरा मैले परिवारबाटै सिकेको हुँ । बाबालाई मिटिङमा कुरा गरेको, मान्छेहरूसँग डिल र नेगोसिएट गरेको देखेर मैले सिक्ने मौका पाएँ ।

बाहिर र यहाँ बिजनेस गर्नुमा के फरक छ ?

अन्य देशमा बिजनेस गर्नु र नेपालमा गर्नु निकै फरक छ । यहाँ पर्सनल रिलेसन, विश्वास र ट्रान्सप्यारेन्सीले काम गर्छ । बाहिरको जस्तो कडाइ यहाँ छैन, काम गर्न निकै फ्लेग्जिबिलिटी यहाँ छ । यहाँ काम गर्न निकै सहज छ । यहाँ जति अपरच्युनिटी संसारको कुनै देशमा नरहेको पाएँ ।

तपाईंको अनुभव, एजुकेसन र बुझाइ इभ्यालुएट गर्दा आफूमा नेपाली बिजनेस सेक्टरमा एउटा संस्था नेतृत्व गर्न सक्ने क्षमता भएको जस्तो लाग्छ ?

मेरो इभ्यालुएसन गर्ने बेला भइसकको छैन बिकज आई एम स्टिल इन द लर्निङ फेज । मलाई अझैं सिक्नु छ । नीति बनाउने, कार्यावयन गर्ने, चलिरहेको व्यवसाय कसरी उकास्नेबारे मैले अझै अध्ययन गर्न बाँकी छ तर, आउने दिनमा कसरी लिडरसिप सम्हाल्ने भन्ने स्क्नि जरुरी होला । अहिले नै मैले लिड गरिहाल्छु भन्ने सोचेको छैन ।

बुबाको बाटोमा हिँड्दा च्यालेन्ज त होलान् नि ?

बुबाको र मेरो जेनेरेसन नै फरक हो । उहाँको काम गर्ने, इम्लोइसँग डिल गर्ने तरिका फरक छ । उहाँ परिपक्व हुनुहुन्छ, म अझै योङ छु । मँसग सबै तथ्यांक कम्प्युटरमा लोडेड छन्, उहाँको दिमागमा छन् । ती डाटा एनालाइसिस गर्ने तरिका फरक छ । उहाँ एकै नजरमा सबै बुझ्ने हुनुहुन्छ । मलाई सोही डाटा एनालाइसिस गर्न घन्टौं लाग्छ । कुरा बुझ्न मलाई समय लाग्छ, बुबा डिसिजन लिइहाल्न सक्षम हुनुहुन्छ । इम्प्लोइहरूसँग सहज रूपमा प्रस्तुत हुनुहुन्छ तर, मेरो च्यालेन्ज मेरो सोचअनुसारको इम्प्लोइ पाउनु हो । मलाई आफूभन्दा बयस्क इम्प्लोइहरूसँग काम गर्न मुस्किल हुन्छ, उहाँहरूलाई काम अह्राउन गाह्रो हुन्छ । मेरो कुरा उहाँहरूलाई बुझाउन मुस्किल हुन्छ तर, बढ्दै गरेको विश्वासले सबै ओभरकम गरेको छ । मरो आइडिया कम्पनीको ग्रोथका लागि उत्तम रहेको बुझेपछि उहाँहरूबाट धेरै साथ पाएको छु ।

बाहिर पढेर आउनु भएको कारण सबैले पत्याउने हो ?

त्यो पनि हुनुसक्छ तर, नयाँ लिडर आउनासाथ इम्प्लोइहरूलाई विश्वास गरिहाल्न अलि मुस्किल हुने रहेछ ।

गोल्यान ग्रुपको ठूलो परिमाणको बिजनेस छ, यी कन्स्ट्रेनका बीच भविष्यमा सबै ‘ह्यान्डल’ सहज होला ?

एउटा टाइम फ्रेममा मलाई च्यालेन्ज थियो तर, इम्प्लोइहरूसँग डिल गर्न मलाई अब गाह्रो हुन्नँ किनकि मेरो कम्पनीको इम्प्लोइहरू काममा प्यासनेट हुनुहुन्छ । उहाँहरूमा नयाँ कुरा सिक्ने इच्छा शक्ति छ । बिजनेस एक्स्पान्सन गर्न भविष्यमा केही च्यालेन्ज होला । व्यवसायमा सबैको एउटै लक्ष्य हो, आजको भन्दा राम्रो गर्ने । अझै माथि जाने प्रेरणाले सहयोग गर्छ तर, केही समय त्यो च्यालेन्ज बन्न पनि सक्छ ।

यति ठूलो ग्रुप ह्यान्डल गर्ने कन्फिडेन्स छ ?

कन्फिडेन्ट इज नेभर अ प्रब्लम फर मी ।

तपाईं काम सिकिरहेको अवस्थामा हुनुहुन्छ, सहकर्मीहरूबाट कत्तिको सहयोग पाइरहनुभएको छ ?

मेरो साथीहरूको सर्कल सानो छ तर, अहिले म जोबाट सिक्ने हो उहाँहरूसँग इन्टर्‍याक्ट गर्न तल्लिन छु । निर्यातमुखी कम्पनीमा लागेका कारण त्यसलाई अघि बढाउने तरिका म, साथी, कम्पनीका सहकर्मी, व्यवसायमा लाग्नुभएका मान्यजन, प्रतिस्पर्धी सबैसँग सिक्छु । म कुरा कम गर्छु तर, बढी सुन्छु ।

गोल्यान ग्रुपमा वर्षौं काम गरेका वरिष्ठ सहकर्मीबाट ‘पवन गोल्यान–सरको छोरा’ सोचेर हुने व्यवहारबाट कत्तिको असहज हुन्छ ? उनीहरूप्रति तपाईंको व्यवहार कस्तो हुने गर्छ ?

यो व्यवहारलाई मैले सकारात्मक रूपमा हेरेको छु । कतिपय अवस्थामा बाबाकै कारण प्रवेश गर्न पाएको छु । बाबाले ठूला व्यवसायीसँग परिचय गराउनुुहुन्छ । उहाँहरूसँग कम्पनीसँगै व्यवसाय क्षेत्र अगाडि लाने कुरा हुन्छ । कहिलेकाहिँ त्यो च्यालेन्ज पनि बन्न सक्छ । बाबा ठूलो लेभलमा पुग्नु भएको छ । यसकारण सबैको एक्स्पेक्टेसन उच्च हुन्छ तर, यसलाई पनि मैले सकारात्मक रूपमा हेरेको छु किनकि म कम्तिमा पनि बाबाले पुग्नुभएको स्थान हासिल गर्न चाहन्छु । मलाई पनि आफ्नो नाम बनाउन मन छ ।

नेपालको बिजनेस क्षेत्रमा ठूलो प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

अघि पनि भनेँ, नेपालमा व्यवसाय गर्न जति अपरच्युनिटी छ, संसारको कुनै पनि देशमा छैन । कुनै थर्ड वल्र्ड मुलुक र केही दक्षिण एसियाली मुलुकमा व्यवसायको केही स्कोप छ तर, त्यो पनि नेपालभन्दा बढी छैन । हामी अन्य विकासशील राष्ट्रभन्दा धेरै जनसंख्या भएको मुलुक हौं । सानो देशमा ठूलो जनसंख्या, युरोप अमेरिकामा छैन । छिमेकी मुलुक भारतमा पनि यहाँजस्तो स्कोप छैन । प्रतिस्पर्धा त जहाँ पनि छ, त्यो प्रतिस्पर्धाले नेपालमा अपरच्युनिटी सिर्जना गरेको छ ।

पहिलेको पुस्ताले नेपाली अर्थतन्त्रमा ठूलो योगदान गर्‍यो । नयाँ पुस्ताको नजरबाट हेर्दा त्यो उपलब्धी र योगदान चुनौती हो कि मार्गदर्शन ?

उहाँहरूको उपलब्धी हाम्रा लागि मार्गदर्शन हो, अपरच्युनिटी हो । हाम्रा अग्रज आजको दिनमा आउनु चाहना थियो । हाम्रो जेनेरेसनका लागि फाउन्डेसन हो जुन अन्य देशमा पाउन मुस्किल छ । यो ब्लेसिङ हो । यहाँभन्दा माथि जान हामीलाई सहज छ । म बाबाप्रति धन्य छु कि मैले शून्यबाट सुरु गर्नु परेन । यहाँ शून्यबाट सुरु गर्नु परेन, अग्रजभन्दा हामीलाई सहज हुनुको कारण नै यही हो ।

व्यवसायमा आफूभन्दा अघिल्लो पुस्ताले देखेको चुनौती र तपाईंले अहिले देखेको चुनौती कत्तिको मेल खान्छ ?

बाबा आफूले १६ वर्षको उमेरमा काम गर्न सुरु गरेको सुनाउनुहुन्छ । त्यो बेला दैनिक १५–१६ घन्टा काम गर्नुपर्थ्यो । आजको दिनमा दैनिक ८–९ घन्टा काम गरे पुग्छ । सोसल लाइफ पनि छ । प्रविधिले आज कम्प्युटर, टेलिफोन, मोबाइल दिएको छ, सूचना आदानप्रदान सहज छ । पुराना दिनमा जुन थिएन तर, उक्त समय डिस्ट्र्याक्सन भने जरुर थिएन, आजका दिन डिस्ट्र्याक्सन हुने गर्छ । समग्रमा भन्नुपर्दा आजको दिनमा कार्यक्षमता बढेको छ । इफिसियन्सी बढेको छ ।

१० वर्षपछि गोल्यान ग्रुपलाई ‘लिड’ गर्नुपर्ने अवस्था आयो भने तपाईंसँग कस्ता योजना छन् ?

१० वर्षपछि ग्रुपको नेतृत्व गर्नुपर्ने भयो वा मैले त्यो सम्हाल्नुपर्ने भयो भने म खुसी हुने छु तर, मैले कुनै नयाँ योजना बनाएको छैन । नेपालको ग्रोथसँग ग्रो हुने नै मेरो स्ट्र्याटेजी हुनेछ । हामीले स्थापना गरेको भिजन पनि यही नै हो । देश र समाजलाई योगदान गर्दै अघि जरुर बढ्ने छौं ।

अहिले रिलायन्स धागो, वेस्टार प्रपर्टिज र सोलार बिजनेस लिड गरिरहनुभएको छ । आफैं ‘फ्रन्ट’ मा आएपछि काम गर्न साँच्चै गाह्रो लागेको छ कि काममा ‘इन्जोय’ गरिरहनुभएको छ ?
सबै सहज छ । चुनौती धेरै छन् । बाबाले सहज बनाइदिनुभएको छ । च्यालेन्ज जे जति छन् मैल इन्जोय गरिरहेको छु । च्यालेन्जलाई इन्जोय गर्न सकेन भने प्रगति गर्न गाह्रो छ ।

दुवै सेक्टरलाई थप प्रतिस्पर्धी र बजारमा आक्रमक बनाउने कस्तो योजना बनाउनुभएको छ ?

पालैपालो कुरा गरौं । प्रपर्टीमा मैल सेल्स र म्यानेजमेन्ट हेर्छु । निर्माणको जिम्मा दाइले लिनुभएको छ किनकि उहाँ त्यसमा विज्ञ हुनुहुन्छ । २–३ महिनामा बानेश्वर क्षेत्रमा कमर्सियल बिल्डिङ निर्माणको योजना बनाएका छौं । सोलारमा हामी नेपालगन्ज चनौटा गरी दुईवटा लोकेसनबाट १४ मेगावाट विद्युत उत्पादन गर्ने योजना बनाएका छौं । १४ मेगावाट उत्पादन गरेपछि सोचौंला ।

मेरो सबैभन्दा ठूलो फोकस रिलायन्स धागो र टेक्स्टायलमा छ । हामी अहिले प्रतिदिन ८० टन धागो उत्पादन गर्दै आएका छौं । हामी क्षमता विस्तार गर्ने क्रममा छौं । अर्को वर्षसम्म हाम्रो क्षमता २० प्रतिशतले बढिसकेको हुनेछ । टेक्स्टायलमा हामी खुद्रातर्फ जाने योजनामा छौं । फ्याब्रिक उत्पादनमा केही समयपछि जाने योजना छ । त्यसपछि ब्रान्ड नै बनाएर नेपालमा बेच्ने र निर्यात पनि गर्ने छौं ।

नेपालमा व्यवसाय गर्ने वातावरण कस्तो छ ?
व्यवसायको वातावरणको कुरा गर्दा यहाँ अपरच्युनिटी थुप्रै छन् । तिनका माझ चुनौतीको चाङ नै छ तर, चुनौती व्यवसायअनुसार फरक–फरक छन् । यी सबैको निर्धारण सरकारको नीतिमा भर पर्छ । हामी उत्पादनमा भएकालाई सरकारको साथ राम्रो छ । विशेष गरी सरकारले टेक्स्टायल उद्योगलाई दिएको सुविधा अन्यभन्दा राम्रो छ ।

मेरो अनुभवले व्यवसाय गर्न निर्यातमुखी उत्पादनमूलक उद्योगमा हात हाल्दा सबैभन्दा उत्तम हुनेछ । देशको अर्थतन्त्रको कुरा गर्दा व्यापार घाटा थेग्नै नसक्ने छ । आयातलाई यहीँ उत्पादन भएका सामग्रीले विस्थापन गर्नुपर्छ । आयात कम गरेर नेपाली उत्पादन प्रवद्र्धन गर्ने र बाँकी निर्यात गर्नुपर्छ । आयात विस्थापित हुन नसके निर्यात बढाउनुपर्छ । कृषिमा हामीले हात हालिसकेका छौं ।

कृषिका योजना पनि सुनाइदिनोस् न !

हामीले हाम्रो स्वर्गीय दाइको नाममा ‘जयन्त गोल्यान फाउन्डेसन’ सञ्चालन गरेका छौं । जहाँ कृषकलाई तरकारी उत्पादन, प्रशोधनसम्बन्धी तालिम दिने गरेका छौं । दास्रो, हामी आफैंले व्यावसायिक कृषि उत्पादन सुरु गरेका छौं । हामीले झापामा २ सय बिघा जग्गामा तरकारी र फलफूल उत्पादन गरेर बेच्ने गरेका छौं । तेस्रो, हामीले मार्केटिङ कम्पनी स्थापना गरेका छौं । जसले कृषकबाट अर्गानिक तरकारी र फलफूल किन्छ र त्यसलाई नेपालभर ढुवानी गर्छ । यो काम हामीले आयात विस्थापनका लागि गरेका हौं । अहिले ९५ प्रतिशत फलफूल र तरकारी विदेशबाट आयात हुने गरेको छ । हामी त्यसप्रति सजग छौं ।

धागो उत्पादनको कुरा गरौं । व्यवसायमा सरकारका कुनै नीतिले असर पारिरहेको छ ?

त्यस्ता कुनै नीतिले हामीलाई बाधा गरेको छैन तर, पहिलेका दिनमा सहयोगी नीति थिएनन् । आजका दिन सरकार सहयोगी भएको छ । मैले जानेअनुसार सरकार अझै नीतिगत सुधारको बाटोमा छ । निर्यातमा सब्सिडी दिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली सामग्री आयात गर्दा ट्यारिफ कम गर्न पहल गर्दै आएको छ । निर्यातकै कुरा गर्दा धागोले नेपालको निर्यातको कूल हिस्साको १२ देखि १५ प्रतिशत ओगट्छ । १५ प्रतिशत निर्यातमा योगदान गर्न नेपालमा तीनवटा मात्र उद्योग छन् । अब आफैं सोच्नुहोस् हाम्रो क्षमता कति छ । रिलायन्स स्पिनिङ मिल्सले मात्र नेपालको कूल निर्यातको ५ प्रतिशत हिस्सा योगदान गर्दै आएको छ । हाम्रो उद्योग सुनसरीको खनारमा छ ।

सरकारले निजी क्षेत्रलाई कस्तो व्यवहार गरिदेओस् जस्तो लाग्छ ?

सरकार नयाँ छ । परिपक्व हुन समय लादैछ तर, नीतिगत सुधारमा राम्रै कदम चालेको छ । सरकारलाई अहिले केही समय दिनुपर्छ । पहिलोपटक सकारात्मक भिजनसहितको सरकार आएको छ । जस्तै, श्रमिकको न्यूनतम ज्याला बढेको छ । हामीलाई असर परे पनि नेपाली श्रमिकको जीविकोपार्जन उत्थान हुँदै छ । यहाँको श्रमिक कामका लागि विदेशमा भौँतारिनु परेको छैन तर, हाम्रो उत्पादनको लागत बढ्दा हामीलाई अन्य माध्यमबाट सहयोग गर्नुपर्छ भन्ने हाम्रो माग छ । जस्तै, पूर्णसमय विद्युत दिएर हुन्छ कि निर्यातमा छुट दिएर । हामीलाई डिमोटिभेट हुने वातावरण बनाउनु हुँदैन । सायद सरकार होमवर्क गर्दै छ ।

धागोको व्यवसाय कत्तिको दिगो छ ? कच्चा सामग्री कहाँबाट आउँछ ?

अहिले कच्चा पदार्थ भारत, थाइल्यान्ड र इन्डोनेसियाबाट आउने गरेको छ । नेपालमा कच्चा सामग्री उत्पादन हुने गरेको छैन तर, हामीले अध्ययन गरेअनुसार नेपालमै धागोको कच्चा सामग्री उत्पादन हुनसक्छ । प्लास्टिक रिसाइकल गरेर फाइबर बनाउन सकिन रहेछ । त्यसको भायबिलिटी छ । त्यो अध्ययन गर्दै छौं । तपाईंले पहिले सोध्नुभएको प्रश्नलाई अहिले जवाफ दिन्छु । ५ वर्षमा टेक्स्टायल उत्पादनाको ‘क’ देखि ‘ज्ञ’ सम्मको काम नेपालमै हुन्छ । फाइबर, धागो, कपडा, गार्मेन्ट र रिटेलमा सर्ट, सुट, पाइन्टसम्म नेपालमै उत्पादन गरेर यहीँ प्रवद्र्धन गर्ने र निर्यातसम्मको योजना छ ।

अन्त्यमा केही भन्नु छ ? केही गर्न चाहनेले कुन क्षेत्रमा हात हाल्दा ठीक होला ?

नेपालमा मजस्ता नयाँ पुस्ताले नेपालका लागि काम गर्नुपर्छ भन्छु किनकि तपार्इं देशका लागि केही गर्नुहुन्छ भनेमात्र देशले तपाईंलाई प्रतिफल दिन्छ । यहाँको माटोमा सुन फलाउन सकिन्छ । आजको दिनमा गोल्यान ग्रुप जे छ नेपालकै देन हो । यही माटोले हामीलाई आजको दिनमा उभ्यायो । हामीजस्तो युवाले जुनसुकै क्षेत्रमा प्यासन लिएर काम गर्नुपर्छ ।

तस्बिरः सरिता खड्का 

Source: Baahrakhari