THE ENTREPRENEURIAL JOURNEY OF OUR MANAGING DIRECTOR MR. AKSHAY GOLYAN

Source: Setopati

व्यापारिक घराना गोल्यान समूहले पचास वर्षभन्दा बढीको इतिहास बोकेको छ। सोहनलाल गोल्यानले जग उठाएको यो समूहलाई उनका छोरा पवनले आकार दिएर बलियो बनाए। अहिले पवनका छोरा अक्षय निर्देशकका रूपमा यसलाई हाँकिरहेका छन्।

समूहको टेक्सटायल, होटल, धागो, हाइड्रोपावर, कृषि, अपार्टमेन्ट लगायत दर्जन बढी क्षेत्रमा लगानी छ। यी सबैको व्यवस्थापन गोल्यानका तेस्रो पुस्ता अक्षयले सम्हालिरहेका छन्।पारिवारिक व्यवसायको डोर सन्तानको हातमा सर्दै जानु ठूलो कुरा भएन। तर बाबुबाजेले स्थापित गरेर पहिचान बनाइसकेको व्यवसायको सफल नेतृत्व लिन सबै सन्तानलाई सहज हुँदैन।

अक्षय तिनैमध्ये एक हुन्।’बाहिरबाट हेर्दा सरक्क बाबु बसेको कुर्सीमा बसेको देखिन्छ, सजिलै लाग्ला पनि। तर यसरी बस्दैमा व्यवसाय चलाउन सजिलो हुँदैन,’ ३३ वर्षीय अक्षयले सेतोपाटीसँग भने, ‘हो, हामीलाई पुँजी अभाव हुँदैन। तर त्यसलाई सही ठाउँमा परिचालन गर्न ठूलो चुनौती छ।’

अक्षयले पारिवारिक व्यवसायमा नेतृत्व भूमिकामा रहेर काम थालेको तीन वर्ष मात्र भयो।व्यवसायमा आर्थिक अभावले मात्र अप्ठ्यारो निम्त्याउँदैन। व्यवस्थापनदेखि विस्तारसम्म अनेक समस्या आइपर्छन्। फेरि व्यवसाय धानिएर मात्र भएन, आफू सक्षम सावित भएर त्यसलाई वृद्धि गर्दै लैजानु झनै चुनौतीपूर्ण हुन्छ। गोल्यान समूहको जिम्मेवारी काँधमा लिनसक्ने हुन आफूले पनि यस्तै चुनौतीहरू पार गरेको उनी बताउँछन्।

२०४५ सालमा जन्मेका अक्षय घरका कान्छा सदस्य हुन्। परिवार विराटनगर बस्ने भएकाले उनको बालापनका केही वर्ष त्यहाँ बिते। स्थानीय जेसिबी बाल सदनमा दुई वर्ष पढेर २०५६ सालमा काठमाडौं आएका उनी यहाँ ग्यालेक्सी स्कुलमा एक वर्ष पढे। यसपछि उनलाई पढ्न भनेर भारत पठाइयो। त्यो बेला उनी सात वर्षका मात्र थिए।

तीन वर्ष उता बसेपछि पारिवारिक समस्याका कारण उनी फेरि काठमाडौं फर्के। लिंकन स्कुल भर्ना भए र प्लस-टुसम्म पढे। अनि उच्च अध्ययनका लागि अमेरिकाको फ्लोरिडा युनिभर्सिटी गए। अक्षयका अनुसार उता गएपछि उनको ध्यान र समय साथीभाइसँग रमाइलो गर्नमा बित्यो। पढाइ खस्किन थाल्यो। सम्झाइ-बुझाइ गर्ने साथमा कोही भएन।

पढाइ बिग्रिँदै गएपछि विश्वविद्यालयका प्राध्यापकले उनलाई बोलाएर सोधपुछ नै गरे। अक्षयलाई त्यहाँ बस्न मन लागेन। नेपाल फर्किन्छु भन्दै बुवा पवनलाई फोन गरे। पवनले पढाइ बीचमै नछाड्न भने। बरू दुबईको अमेरिकन युनिभर्सिटीमा पढ्न सुझाए। अक्षय गए पनि। तर परीक्षामा राम्रो नम्बर नआएकाले विश्वविद्यालयले लिन मानेन।’युनिभर्सिटीले अस्वीकृत गरेपछि मलाई निकै चिन्ता भयो। बुवा पनि रिसाउनुभयो,’ अक्षयले सुनाए।

उनलाई दुबईको विश्वविद्यालयले एक मौका भने दियो- त्यहीँको स्थानीय कलेजमा पढेर ३.० जिपिए ल्याए भर्ना लिने।कलेजमा छ महिना पढेपछि उनले भनेअनुसार जिपिए ल्याए। त्यसपछि विश्वविद्यालयले भर्ना लियो तर उनले सुरूदेखि नै पढ्नु पर्ने भयो।’मैले फ्लोरिडामा दुई-तीन वटा कोर्ष गरिसकेका थिएँ। नम्बर कम आएकाले दुबईको युनिभर्सिटीले फेरि सुरूबाटै पढ्न लगाइदियो,’ उनले भने।

सानो छँदा राम्रो पढाइ भएर कक्षा उक्लेका अक्षयलाई त्यही पढाइ बिग्रिएर दुई वर्ष खेर जाँदा निकै नमज्जा लाग्यो। परिवार पनि खुसी भएन। यो सब हुनुमा उनले आफ्नै गल्ती ठाने।आत्मग्लानी हुन थालेपछि उनले रमाइलोमा नलाग्ने प्रण गरे र मेहनत साथ पढ्न थाले। उनको लगनले पढाइ राम्रो हुँदै गयो।

‘मैले साथीभाइसँग रमाइलो गर्नै छोडिदिएँ। पढाइमा मात्र ध्यान दिएँ,’ उनले भने, ‘बिदामा पनि घर नगइ पढेर बसेँ। अनि चार वर्षको कोर्ष तीन वर्षमै सक्न सफल भएँ।’उनले थपे, ‘कक्षामा दुई सय विद्यार्थी थिए। मेरो नाम उत्कृष्ट पाँचमा पर्‍यो।’

पढाइपछि उनी नेपाल फर्किए। परिवारको व्यवसाय भएकाले बाहिर काम खोज्नु पर्थेन। तर उनीसँग व्यवसायबारे किताबी ज्ञान मात्र थियो। उनी काम गरेर अनुभव लिन चाहन्थे। त्यही बेला गोल्यान समूहले आवासीय गृह (वेस्टार प्रपर्टिज) लगानी गरेको थियो। व्यवसायका कुरा सिक्न अक्षयले वेस्टार प्रपर्टिजको मार्केटिङ हेर्ने जिम्मेवारी लिए।

‘त्यसका बारेमा लेख्ने, ब्रोसर बनाउने, मार्केटिङ गर्ने काम गरेँ,’ उनले सुनाए, ‘त्यो नै मेरो पहिलो काम थियो।’परिवारको व्यवसायमा जिम्मेवारी लिन आँट भए पनि उनलाई काम गर्न गाह्रो भयो। पहिले परिवारका साथ लागेर कारखाना र कार्यालय हेर्न मात्र गएका अक्षयलाई एकैपटक व्यवसाय धान्न मुश्किल हुनु स्वभाविक थियो।

उनी आफैंलाई काममा सन्तुष्टि मिलेन। त्यसैले उनले थप पढ्ने निधो गरे। अनि एमबिए गर्न स्पेन गए। त्यहाँ ठूला कम्पनीमा काम गरेका विद्यार्थीहरू पढ्न आउँथे। उनीहरूबाट व्यवसायका विभिन्न आइडियाबारे सिक्ने अवसर पाएको अक्षय बताउँछन्।

त्यहाँ दुई वर्ष पढेपछि उनलाई कामको प्रस्ताव आयो। तर यहाँ परिवारको व्यवसाय समाल्नुपर्ने जिम्मेवारी उनको काँधमा भएकाले फर्के।

आएपछि अक्षय रिलायन्स स्पिनिङ मिलमा काम गर्न थाले र विस्तारै व्यवसायमा भिज्दै गए। त्यो बेला उनी २६ वर्षका मात्र थिए। सबै आफूभन्दा धेरै उमेरका कर्मचारी भएपछि उनीहरूसँग उनको विचार मिलेन। बरू आफै छुट्टै हस्पिटालिटी/होटल क्षेत्रमा काम गर्ने योजना बनाए।

‘मैले उक्त योजना घरमा सुनाएँ। छोराले आफैं काम सुरू गर्ने भनेपछि परिवारले नदिने कुरै भएन,’ उनले भने।बुवा पवनसँग तीस लाख रूपैयाँ मागेर उनले होटल बुक गर्ने एउटा एप बनाए। एप चलेन। दुई वर्षको मेहनत खेर गयो। अक्षय अलमलमै थिए।पछि पवनले उनलाई रिलायन्स नै हेर्न सुझाए। आफूले गरेको कामबाट सफलता हासिल नभएपछि अक्षयले बुवाको कुरा नकार्न सकेनन्।

‘बुवाले तिमी आफूले गरेको बिजनेसमा सफल भएनौ, बिजनेस पढेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ भन्नुभयो,’ अक्षयले बुवाका भनाइ सम्झिए, ‘बाहिर त्यति राम्रो जागिर पाइँदैन। जागिर नै गर्ने हो भने मेरा लागि गर। म तिमीलाई काम दिन्छु भन्नुभयो।’

त्यसपछि भने उनी काममा गम्भीर भएर लागे। कारखाना गएर धागो बनाउने कच्चा पदार्थ कहाँबाट आउँछ, कसरी धागो बनाइन्छ, रंगीन पारिन्छ लगायत सबै प्रक्रिया चाखपूर्वक हेर्न थाले। निर्यातदेखि व्यवसाय सञ्चालनसम्मका जानकारी लिँदै गए। अनि आफ्नो जिम्माको काम सिक्दै, गर्दै अगाडि बढे।अनि उनको ध्याउन्नले रङ देखाउन थाल्यो। रिलायन्सको आर्थिक वृद्धि हुँदै गयो।’मैले राम्रोसँग बिजनेस हेर्न थालेको सन् २०१८ बाट मात्र हो। एक वर्ष मैले आफ्नै परीक्षणका रूपमा काम गरेको थिएँ। राम्रै भयो,’ उनले भने।

कम्पनीको वृद्धिमा आफ्नो पहिलो प्रयास पनि उनी सम्झिन्छन्।

उनका अनुसार रिलायन्समा चार हजार बढीले काम गर्छन्। उनले जिम्मेवारी सम्हालेकै बेला सरकारले श्रमिकको पारिश्रमिक ६० प्रतिशतसम्म वृद्धि गरेको थियो। तलब वृद्धि हुँदा खर्च थप २० करोड बढ्यो। खर्च बढ्ने, कारोबार जस्ताको तस्तै हुने भएपछि व्यवसाय उक्सिँदैन। त्यसैले उनले आफैं बसेर सबै कर्मचारीलाई काममा लगाए। यसबाट रिलायन्सको उत्पादन बढ्यो। उत्पादनसँगै निर्यात पनि उकालो लाग्यो।

‘पहिले थोरै मात्र निर्यात हुन्थ्यो। मैले हेर्न थालेपछि बीसदेखि २५ प्रतिशत बढ्न थाल्यो। त्यो नै कम्पनीलाई मैले गरेको पहिलो योगदान थियो,’ उनले आफ्नो पहिलो सफलताको अनुभव सुनाए।

अहिले रिलायन्समा दस वटा जापानी प्रविधिका मेसिन थपेर उत्पादन बढाइएको छ। त्योसँगै रोजगारी पनि बढेको उनले बताए। आगामी वर्ष १५ वटा मेसिन थप्ने योजना अक्षयले बनाएका छन्। 

त्यस्तै गोल्यान समूहले माटो ब्रान्डमार्फत् कृषि उत्पादन (विशेषगरी तरकारी-फलफूल) बिक्री गरिरहेको छ। यसका पसल बढाउँदै लैजाने पनि उनको योजना छ।

‘खास नयाँ नै केही सोचेको छैन। नेपालमा कुन किसिमको व्यवसाय आवश्यक छ, फस्टाउँछ भनेर अध्ययन गरी काम गरिरहेका छौं,’ उनले भने, ‘त्यही अनुसार निर्यातमूलक, पर्यटन (होटल), ऊर्जा र कृषि गरी चार मुख्य क्षेत्रमा ध्यान केन्द्रित छ। अनि यही काम कसरी अगाडि बढाउने, रोजगारी सिर्जना गर्ने भन्ने विषयमा म केन्द्रित छु।’ 

तीन वर्ष अवधिमा पारिवारिक व्यवसाय व्यवस्थापनबाट व्यवसायिक व्यवस्थापनमा रूपान्तरण गर्न आफू सफल भएको उनी बताउँछन्। पहिले गोल्यान समूहका सबै क्षेत्र परिवारभित्रकै सदस्यले चलाउँथे। अहिले उनले बाहिरबाट नियुक्ति गरेको पनि उनले बताए।

‘ऊर्जा, कृषि, कर्पोरेट, फाइनान्स गरी चारवटा विभाग बनाएको छु। त्यहाँ छुट्टै टिम छ। सबैमा सिइओ राखेको छु,’ उनले भने, ‘मानव संसाधन, पब्लिक रिलेसन विभागमा सदस्य थपेको छु। पहिला यस्तो थिएन।’

समूहको संरचना परिवर्तन भएपछि व्यवसाय चलाउन सहज भएको अनुभव उनले गरेका छन्।

तर पारिवारिक र स्थापित नै भए पनि पहिलेको तुलनामा अहिले व्यवसाय चलाउन निकै चुनौती देख्छन् उनी। पहिले परिवारको एउटा व्यवसाय हुन्थ्यो। सबै सदस्य त्यसलाई माथि उठाउन लागि पर्थे। अहिले व्यवसाय धेरै र फराकिलो हुँदै गएकाले प्रतिस्पर्धा पनि बढेको उनी बताउँछन्।

त्यसमाथि परिवारकै सदस्यसँग उमेर र सोच नमिल्दा काम व्यवस्थापन गर्न गाह्रो हुने उनलाई लागेको छ।

‘हाम्रो पुस्ताको सोच एउटा हुन्छ, अघिल्लो पुस्ताको अर्कै हुन्छ। जस्तो मैले स्कुल खोल्ने सोचेँ भने बुवाहरू होटलमा लगानी गरौं भन्नुहुन्छ,’ उनले भने, ‘आफूले सोचेको काम गर्न नदिने होइन। तर कुरा बुझाउन गाह्रो हुन्छ।’पारिवारिक व्यवसायमा परिवार र व्यवसाय सँगै जोडिएको हुन्छ। यो दुवै कुरा व्यवस्थापन राम्ररी हुन नसके असहज परिस्थिति सिर्जना हुने पनि उनको अनुभव छ।

अक्षय यसमै थप्छन्, ‘परिवारमा समस्या छ भने व्यवसायमा पनि हुन्छ र व्यवसायमा समस्या आए त्यो परिवारमा पनि आइपुग्छ। बाहिर जागिर गर्नेलाई काममा समस्या आए घरमा परिवारसँग बसेपछि त्यो बिर्सिन्छ। परिवारमा समस्या आए जागिर गएपछि घरको कुरा बिर्सिन्छ। तर पारिवारिक व्यवसायमा त्यस्तो हुँदैन। एकआपसमा जोडिएको हुन्छ, जसलाई व्यवस्थापन गर्न गाह्रो हुने रहेछ।’

त्यसैले अक्षयलाई लाग्छ- पारिवारिक व्यवसायलाई व्यवसायिकमा रूपान्तरण गर्दै लगे वृद्धि हुन्छ। 

यसनिम्ति उनी प्रयास पनि गरिरहेका छन्।

पछिल्ला दुई वर्षयता कोरोना महामारीले सबै व्यवसायमा प्रभाव पारेको छ। गोल्यान समूहको व्यवसाय पनि सुस्त भयो। तर असहज परिस्थिति सामना गर्दै आगामी दिनमा उत्पादन बढाउन आफू लागि पर्ने अक्षय बताउँछन्।