बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान स्पष्ट शब्दमा बोल्ने उद्योगी व्यापारीकारुपमा चिनिन्छन् । नेपालको आर्थिक संकटको मूल कारक वित्तीय क्षेत्र नै बन्न सक्छ भन्ने चर्चा चलिरहेका बेला आर्थिक न्युज डटकमले त्यस्ता संस्थाहरूको सञ्चालकको समेत नेतृत्व गरिरहेका गोल्यानलाई नेपालका बैंकिङ क्षेत्रमा हाल गहिरिँदै गइरहेको समस्या, त्यसका कारण र निराकरणका उपायहरू माथि समेत लामो कुराकानी र छलफल गरेको छ । बैंकको ब्याजदर बढ्यो, बैंकले ग्राहकलाई ठगे, दुख दिए, अत्त्याए, सात्तो टिपे भन्ने जस्ता आरोपहरू आमरुपमा लागिरहेका बेला गोल्यानले ती सबै सवालहरूको सटिक जवाफ दिएका छन् । प्रस्तुत छ, आर्थिक न्युजका इन्द्र बहादुर बानियाँले उनै गोल्यानसंग गरेको कुराकानीको सम्पादित अंश:
अहिले बैंकहरुले ठिक गरिरहेका छैनन भन्ने चर्चा छ । तपाई वित्तीय संस्थाहरूको अध्यक्ष हुनुहुन्छ । यसबारे के भन्नु हुन्छ ?
आम नागरिकको आँखाबाट हेर्दा त्यो गलत होइन । तर, बैंकले अरू व्यापार झैँ एकातिरबाट लिने र अर्कातिरबाट दिने नै काम गर्छ । अहिले ब्याजदर बढेको छ । यो ब्याज बढ्नुमा अरू धेरै कारण छन् ।
बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाले गर्दा समस्या बढेको हो भनिन्छ नि ?
बैंकहरुले प्रतिस्पर्धा गरे भन्नु भन्दा पनि किन त्यो अवस्था आयो भन्ने बुझ्नु पर्छ । यो समस्याको सुरुवात अहिले भएको होइन । जब अढाई अर्बबाट चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याइयो त्यसले बैंकहरुलाई नाफा आर्जन गर्ने झन् ठूलो दबाब दियो । परिणामस्वरूप आक्रामक व्यापारमा बैंक लाग्दा समस्याको कारक बन्यो ।
बैंक सञ्चालकहरूबाट सिइओ लगायत व्यवस्थापकलाई बढी नाफा आर्जन गर्न दबाब दिइन्छ भन्ने सुनिन्छ नि ?
अहिले ठिक उल्टो अवस्था छ । व्यवस्थापनले लगानी विस्तार गर्न खोज्दा वा केही उदार बन्न खोज्दा समेत हामी सञ्चालकहरू अहिले कमाउने भन्दा पनि जोगाउनेतिर लाग्नु पर्छ भनिरहेका छौँ । हामी हाम्रा ग्राहकहरूलाई कुनै समस्या नहोस् भनेर त्यसबारे सचेत छौँ । बैंकको ब्याजदर बेस रेटको आधारमा मात्रै वृद्धि गरौँ भन्ने जस्तो कुरामा हामी लागेका छौँ ।
हालको आर्थिक समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्थाले कसरी भूमिका खेल्न सक्छन् ?
हामीले स्वदेशी उत्पादनमा ध्यान दिनु पर्छ । बैंकहरुले त्यस्तै खालका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्छ । तर, समस्या के छ भने उत्पादनमूलक कुन क्षेत्रमा लगानी गर्ने र अहिलेको हाम्रो आवश्यकता के हो ? हाम्रा ६० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर छ । तर, पर्याप्त उत्पादन छैन । त्यसलाई मात्रै घटाउन सक्ने हो भने पनि समस्या समाधानमा सहयोग पुग्छ । त्यसैले कृषि पर्यटन जस्ता क्षेत्रमा बैंकले लगानी गरेर अघि बढ्नु पर्छ । सरकारले पनि त्यसमा साथ दिनु पर्छ ।
नेपालमा रहेका वनजंगलहरुलाई समेत आय आर्जन र उत्पादनको स्रोत बनाउन सकिन्छ । वनको संरक्षण गर्दै त्यसलाई अर्थपार्जनमा पनि लगाउने योजना निर्माण गर्नु पर्छ ।
तपाईले नै बैंक तथा वित्तीय संस्थाहरूको संगठनको नेतृत्व गरिरहुन् भएको छ, उत्पादनमूलक क्षेत्रमा लगानी गर्न के ले रोक्यो ?
कहिले रोकेको छैन । तर, यस्ता दीर्घकालीन प्रकृतिका क्षेत्रमा महँगो ब्याजदरमा लगानी गर्न सकिँदैन । अहिले नै होटेलको उदाहरण दिने हो भने सात आठ प्रतिशतमा लिएको ऋणको ब्याज १३/१४ प्रतिशतमा पुगिसकेको छ । हाइड्रोपावरमा पनि त्यस्तो स्थिति छ । खरिद बिक्रीको व्यापारमा हो भने महँगो ब्याजदरले वस्तुको मूल्य मात्रै बढाउने हो । तर, दीर्घकालमा त्यस्तो हुँदैन । ब्याजको कारण लगानीको वातावरण छैन ।
तपाई अहिले बैंकले संयमता अपनाउनु पर्छ भन्दै हुनुहुन्छ ? तर, कतिपय बैंकहरुले मोटाघाटा मान्छे ऋणीको घरमा पठाएर तनाव दिइरहेको छ भन्ने देखिन्छ ?
हामीले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर यसबारे कुरा गर्यौ । बैंकको आफ्नो खर्च घटाउनु पर्यो भनेका छौँ । र, के पनि भनेका छौँ भने जो वास्तवमै समस्यामा रहेको छ उसलाई सहयोग गर्रौँ र जसलाई समस्या छैन उसबाट असुली गरौँ भनेका छौँ । तर, के पनि भनेका छौँ भने यो अवस्थाको फाइदा उठाएर जसले अटेरी गरेको छ उसलाई चाहिँ छोड्नु हुँदैन । तिर्न सक्नेबाट ऋण असुली गर्नु पर्छ ।
हामीसँग यदि कुनै क्षति भइहालेमा रिकभरि गर्न सक्ने कुनै निकाय छैन । आफैले व्यहोर्नु पर्ने हुन्छ । अब भने हामी पनि रिकभरि एजेन्सी आओस् र त्यसलाई सबै कुरा जिम्मा लगाउनु पाए हुन्थ्यो भन्नेमा पुगेका छौँ ।
हाम्रो बैंकिङ क्षेत्र पुनर्संरचनाको जरुरी छ भन्ने विज्ञहरू भन्दै छन् । त्यस्तो स्थित हो ?
होइन, बिल्कुलै होइन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बैंकहरुको अडिट गर्नु पर्छ भनेको छ । तर, उसले संकेत गरेझैँ गम्भीर अवस्थामा हाम्रा बैंकहरुले पुगेका छैनन । एक दुई वटा बैंकहरुलाई स्याम्पलकोरुपमा लिएर गरे पनि हुन्छ । सबैमा जरुरी छैन ।
म यस्तो किन भनिरहेको छु भने हाम्रो बैंकिङ क्षेत्र अहिलेसम्म पनि कन्जरभेटिभ नै छ । नेपाल राष्ट्र बैंकका जति पनि नीति र निर्देशनहरू छन् अत्यन्तै कसिला छन् । बैंकहरुलाई आफूखुसी थोरै पनि हल्लिने मौका दिदैनन । यही कडा नियन्त्रणकै कारणले हामी जोगिएका छौँ ।
विदेशका ठूला बैंकहरुमा पुनर्संरचना र विदेशीहरूले भनेजस्ता सबै कामहरू भएकै थिए । तर, ढले । त्यसैले उनीहरूले भन्दैमा यहाँ गरिहाल्नु पर्छ भन्ने छैन । हाम्रो बैंकिङ क्षेत्र बलियो छ । यसले भूकम्प, नाकाबन्दी र कोरोना महामारी समेत झेल्यौँ । त्यसैले आत्तिइहाल्नु पर्ने अवस्था छैन ।
ब्याजदर बढाएर निक्षेप बढ्छ भन्ने जुन अनुमान गर्यो त्यो गलत भयो । हामीले स्विकार्नु पर्छ । ब्याजदर तल झर्नु पर्छ, उत्पादनमूलक क्षेत्रमा र अनुत्पादनमूलक क्षेत्रमा गरिने लगानीको ब्याजदर फरक फरक हुनुपर्छ ।